जीवनराज दाहाल (बर्दिबास, महोत्तरी)
बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानले शनिबार, २०८२ पुस २६ गते आफ्नो ७६औँ शृङ्खला सम्पन्न गर्दै कवयित्री जमुना पोखरेलको सिर्जना कृति ‘शान्तिको दीप’ माथि विशेष विमर्श गरेको छ । कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष यशोदा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव पवन कुमार वाग्लेले गरेका थिए । प्रतिष्ठानकी कोषाध्यक्ष विमला विश्वकर्माले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा रचना वाचन र शुभकामना मन्तव्य व्यक्त गर्ने प्रमुख अतिथिहरूमा मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल, गौरीशंकर मिथिला बाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, कमला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना 'गति', बर्दिबास नेवा समाजका अध्यक्ष धन नारायण श्रेष्ठ रहेका थिए ।
साहित्य प्रेमी तथा अन्य अतिथिहरूमा सरिता ढुङ्गाना, जनता बहुमुखी क्याम्पस व्यावस्थापन समिति सदस्य हेमसागर वाग्ले, बुढ्यौली साहित्य समाज मधेश प्रदेश समितिका सचिव तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल सहभागी थिए ।
कार्यक्रममा कवयित्री सानीमाया पुलामीले ‘शान्तिको दीप’ कृतिको समालोचनात्मक चर्चा गर्दै समाजका विभिन्न सामाजिक, आर्थिक र व्यवहारिक पक्षलाई समेटेको यस कृति अत्यन्तै मार्मिक र हृदयस्पर्शी रहेको बताइन् । उनले कवयित्री पोखरेलका अन्य कृतिहरू पनि प्रकाशित होउन् भन्ने शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा विभिन्न लयका कविता, गीत र गजल वाचन गरिएका थिए । वाचनमा सहभागीहरूमा जीवनस्पर्शी, रुद्र आचार्य, सुदर्शन भट्टराई, अम्बिका दाहाल, जनक पौडेल, रमा शर्मा ढकाल, सुभद्रा भुजेल, निर प्रसाद शर्मा, शर्मिला पोखरेल, कुशल अधिकारी, दिनेश पौडेल, मन्जिता लाखे रहेका थिए ।

प्रगतिशील लेखक सङ्घ नेपाल मधेश प्रदेश अध्यक्ष नारायण घिमिरेले कार्यक्रममा बोल्दै प्रतिष्ठानले बर्दिबासका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरुप यहाँ आइपुगेको र यो सराहनीय कार्य भएको बताए । उनले ७५औँ शृङ्खलासम्म पूर्व समितिले भव्य रूपमा कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिए ।
कवयित्री जमुना पोखरेलले आफ्नो कृति प्रतिष्ठानमा विमर्श गरिएकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो कृतिको समालोचनात्मक समीक्षा गर्न आग्रह गरेकी थिइन् । उनले आफ्नो पहिलो गीती एल्बम ‘ए चेली नजाउन खाडीमा’ समेत यही प्रतिष्ठानले २०७६ साल साउन २ गते विमोचन गरेको कुरा स्मरण गराइन् ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष यशोदा श्रेष्ठले उपस्थित अतिथि र सम्पूर्ण सहभागीहरूमा आभार व्यक्त गर्दै, भविष्यमा अझ सक्रिय रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले कार्यक्रममा हल उपलब्ध गराउने गौतम होटल प्रालिका सञ्चालक हिरा गौतमलाई विशेष धन्यवाद दिइन् ।




