महोत्तरी — महोत्तरी जिल्लाको हलखोरी बजारमा रहेको बिजय जनरल स्टोरमा गएराति भीषण आगलागी हुँदा पसलमा रहेका विभिन्न सामग्री र संरचनामा ठूलो मात्रामा क्षति पुगेको छ।
राति अचानक लागेको आगलागीको खबर प्राप्त हुनासाथ दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। दमकलको समयमै गरिएको प्रयासका कारण आगो अन्य पसल तथा आसपासका संरचनामा फैलिन नपाएको जनाइएको छ।
स्थानीयका अनुसार आगलागीको घटनामा लागुऔषध सेवन गरिरहेका अज्ञात युवकहरूको संलग्नता हुन सक्ने आशंका गरिएको छ। घटनापछि ती युवकहरू फरार रहेको बताइए पनि आगलागीको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।
घटनापछि नेपाल प्रहरी घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको जनाएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाइ छ।










