जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीबीच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् ।
बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले जेनजी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरू बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरू नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताए ।
‘हामी निर्वाचनको मुखमा आइपुगेका छौं । यो हाम्रो लागी ठूलो चुनौती छ । वीचवीचमा पनि धेरै कुराहरू भइरहको छ, विगतमा दिनमा सम्प्रदायिक विवादहरू पनि हामी देखिरहेका छौं । जातीय विवादहरू पनि देखिरहेका छौं,’ उनले भने, ‘राजनितिक दलहरूका विरोध प्रर्दशन पनि भइरहेका छन् । धेरै कुराहरू छन्, यसमा हामीले अगाडीको दिनमा निर्वाचनलाई सफल बनाउनको लागी सचेत भएर लाग्नुपर्छ ।’
नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ छ । हालै सम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने उनले बताए ।


