जनकपुरधाम– धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ गोली हानी हत्या गरिएकी अन्दाजी २५ वर्षीया युवतीको पहिचान डेढ महिनापछि पनि खुल्न सकेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान जारी राखे पनि मृतक को हुन्? र, कसले हत्या गर्यो? भन्ने विषय अझै रहस्यमै रहेको छ ।
२३ माघको बिहान स्थानीयले सडकछेउ युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले शवको प्रारम्भिक परीक्षण गर्दा युवतीको बायाँ कनपट्टीमाथि गोली लागेको र गोली टाउको छेड्दै दायाँ भागबाट निस्किएको देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमका अनुसार मृतक युवती करिब ५ फिट ४ इन्च उचाइकी, कालो वर्णकी थिइन् । घटनाका बेला उनले निलो सुरुवाल, सेतो स्वेटर र खुट्टामा चप्पल लगाएकी थिइन् ।
प्रहरीका अनुसार स्वेटरको एउटा खल्तीमा बच्चाले खेल्ने सानो खेलौना र अर्को खल्तीमा नेपाली दैनिक पत्रिकाको कागजमा बेरिएको सिन्दूर भेटिएको थियो । साथै खल्तीबाट पाँच सय रुपैयाँभन्दा केही बढी भारतीय मुद्रा पनि बरामद भएको थियो । घटनास्थलबाट करिब २० मिटर पर तीन मुठा रायोको सागसमेत फेला परेको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार युवतीको बायाँ कानमाथि गोली प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । उनका अनुसार गोली प्रहारपछि युवती धेरै संघर्ष गर्न नसकी घटनास्थलमै मृत्यु भएको देखिन्छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनास्थलको अवस्थाले गोली प्रहार हुनु अघि कसैसँग कुराकानी भइरहेको संकेत देखिएको छ ।
‘कुराकानीकै क्रममा बायाँतर्फबाट गोली प्रहार गरिएको हुन सक्ने देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
प्रहरीले मृतक युवती भारततर्फकी हुन सक्ने आशंका पनि गरेको छ । त्यसका लागि पहिचान खुलाउन ७७ वटै जिल्ला प्रहरी कार्यालयमा विवरण पठाइएको छ भने भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ ।
युवतीको तस्वीर र हुलियासहितको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिए पनि अहिलेसम्म परिवारजन सम्पर्कमा आएका छैनन् ।
गम्भीर प्रकृतिको हत्या भएकाले शव व्यवस्थापन नगरिएको र हाल प्रादेशिक अस्पताल जनकपुरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ ।


