महोत्तरी,औरही- तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै शनिबार महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
स्थानीय मनोज चौधरी र राजु चौधरीको नेतृत्वमा आयोजित कार्यक्रममा करिब ४० जनाको सहभागिता थियो। सहभागीहरूले दिवंगत बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।




कार्यक्रममा सहभागीहरूले ‘गरिमालाई न्याय दे’, ‘बलात्कारीलाई कडा कारबाही गर’ र ‘बालबालिकाको सुरक्षा सुनिश्चित गर’ लगायतका नारा लगाउँदै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडा सजाय दिन माग गरेका छन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरी केही दिनदेखि बेपत्ता थिइन्। उनी घरबाट हराएको केही दिनपछि मृत अवस्थामा फेला परेकी थिइन्। घटनामा बलात्कारपछि हत्या भएको खुलेपछि दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै देशका विभिन्न स्थानमा विरोध तथा श्रद्धाञ्जली कार्यक्रम हुँदै आएका छन्।

श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने हिंसा तथा यस्ता जघन्य घटना नियन्त्रण गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।





















