नेपाली काँग्रेसले नयाँ जोश, नयाँ योजना र सुशासनप्रतिको दृढ संकल्पसहित देशको नेतृत्व लिन पूर्ण रूपमा तयार भएको जनाएको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलले काँग्रेसलाई थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनाउने साझा प्रयास सफल भइरहेको बताउनुभएको छ ।
महामन्त्री पौडेलले दोस्रो विशेष महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्तालाई समेत अब सहयात्रामा जोडिन आग्रह गर्नुभएको छ । उहाँले काँग्रेसभित्र कसैले पनि आफूलाई पराजित महसुस गर्न नपर्ने स्पष्ट पार्दै पार्टीलाई एउटै छातामुनि गोलबद्ध बनाउन इमानदार प्रयत्न जारी रहने बताउनुभयो ।
उहाँले काँग्रेस हिजो पनि एकताबद्ध रहेको र आगामी दिनमा अझ मजबुत रूपमा सँगै अघि बढ्ने उल्लेख गर्नुभयो । पार्टीभित्र आपसी विश्वास, सहकार्य र एकताको भावना सुदृढ बनाउँदै सबै मन र मुटुलाई साझा लक्ष्यतर्फ केन्द्रित गरिने उहाँको भनाइ छ ।
महामन्त्री पौडेलले अबको यात्रामा युवा पुस्ता, विशेषतः जेन जी पुस्ताले उठाएका आवाजलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । बदलिएको नीति र नयाँ नेतृत्वसहित पार्टीलाई अझ सबल र एकताबद्ध बनाउने अभियानमा चारतारे झण्डामुनि सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो । साथै, रुपान्तरित नेपाल निर्माणको महाअभियानमा जेन जी पुस्तासँग सहकार्य गर्न काँग्रेस तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले मुलुक आम निर्वाचनको संघारमा उभिएको उल्लेख गर्दै आम नागरिकले सक्षम, एकताबद्ध र विधिमा चल्ने नेपाली काँग्रेस खोजिरहेको बताउनुभयो । त्यसैले काँग्रेस अब निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने र नागरिकको समृद्धिको सपना पूरा गर्न केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महामन्त्री पौडेलका अनुसार काँग्रेसले अब नागरिकसमक्ष ‘काँग्रेस रूपान्तरण भएको छ, अब काँग्रेसले देशको रूपान्तरण गर्नेछ’ भन्ने स्पष्ट सन्देश लिएर जानेछ ।




