पूर्व राजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुरधाम आउने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहको जनकपुरधाम आगमनको जानकारी दिएको हो । राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार आइतबार सम्पन्न पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि निर्णय गरेको छ ।
बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झा (लालबाबु) को अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ ।
जिल्ला अध्यक्ष यादवका अनुसार पूर्व राजा शाहको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिर र राम मन्दिर दर्शन गर्ने कार्यक्रम तय गरिएको छ । पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको जनाएको छ ।


