धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रमुख दलका चर्चित नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्, जसले यो क्षेत्रलाई फेरि पनि प्रतिस्पर्धात्मक बनाएको छ।
नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव ले धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। उता, नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ ले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गर्दै पुनः निर्वाचन प्रतिस्पर्धामा उत्रनुभएको छ। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी महासेठलाई पार्टीले यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि दोहोर्याएर उम्मेदवार बनाएको हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महासेठले कांग्रेसका तत्कालीन सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै जीत हासिल गर्नुभएको थियो। यसपटक भने यादव र महासेठबीच पुनः कडा टक्कर हुने देखिएको छ।
निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडा का अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजकिशोर महतो, नेपाली कम्युनिस्ट पार्टीबाट सञ्जयकुमार महतो, आम जनता पार्टीबाट रामकुमार महतो तथा जनता समाजवादी पार्टीबाट कृष्णचन्द्र साह ले पनि धनुषा–४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया साँझ ढिलासम्म जारी रहेकाले अन्तिम संख्या यकिन गर्न नसकिएको हो।





