धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्नेको संख्या उल्लेख्य देखिएको छ ।
प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा साँझ ७ बजेसम्म प्राप्त विवरणअनुसार धनुषा–१, २, ३ र ४ गरी जम्मा १४२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सबैभन्दा धेरै उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ । यस क्षेत्रमा ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसपछि धनुषा–४ मा ३६, धनुषा–१ मा ३३ र धनुषा–२ मा ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो अद्यावधिक मतदाता सूचीअनुसार धनुषा जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदाता संख्या करिब समान रहेको छ ।
धनुषा–१ मा करिब १ लाख १५ हजार, २ मा १ लाख १० हजार, ३ मा १ लाख २० हजार र ४ मा करिब १ लाख १८ हजार मतदाता रहेका छन् ।
चारै क्षेत्रमा एक लाखभन्दा बढी मतदाता रहेका कारण धनुषाको निर्वाचनलाई यसपटक पनि कडा प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरिएको छ ।
मनोनयन दर्तामा प्रमुख राजनीतिक दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो । नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय मुक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरूका उम्मेदवारहरू ले आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसका साथै विभिन्न सामाजिक अभियन्ता, पूर्वराजनीतिक कार्यकर्ता तथा स्थानीय व्यक्तिहरू पनि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवारको संख्या बढेसँगै मत विभाजनको सम्भावना बढ्ने देखिएको छ ।
धनुषा जिल्लालाई मधेशको राजनीतिक रूपमा संवेदनशील र निर्णायक जिल्ला मानिन्छ । यहाँ जातीय, क्षेत्रीय र दलगत समीकरणले नतिजा प्रभावित गर्दै आएको छ । यसपटक उम्मेदवारको संख्या धेरै हुँदा दलभित्रको प्रतिस्पर्धा र असन्तुष्ट समूहको प्रभाव समेत चुनावी परिणाममा देखिन सक्ने अनुमान गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता पश्चात् म्मेदवारी जाँच प्रक्रिया सुरु हुनेछ । उजुरी परेमा छानबिन गरिनेछ भने उम्मेदवारी फिर्ता लिने म्यादपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिने छ ।
धनुषाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको अत्यधिक संख्याले यसपटकको निर्वाचनलाई रोचक र प्रतिस्पर्धात्मक बनाएको छ ।




