जनकपुरधाम । धनुषामा जिल्ला शान्ति तथा सद्भाव समिति गठन गरिएको छ ।
जिल्लामा शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यसहित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सो समिति गठन गरिएको हो ।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रमुखसहित सुरक्षा निकायका प्रमुखहरू, नेपाल पत्रकार महासंघ धनुषा शाखाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल बार एशोसिएशन, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्षहरू, विभिन्न धर्मगुरु तथा सामाजिक अगुवाहरूको सहभागिता रहने व्यवस्था गरिएको छ ।
जिल्लामा बढ्दो सामाजिक विविधता, राजनीतिक गतिविधि र विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले समिति सक्रिय बनाइने प्रशासनले जनाएको छ ।
समितिले आपसी समझदारी, सहकार्य र संवादमार्फत सम्भावित विवाद समाधान गर्ने भूमिकामा रहनेछ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार समितिको संरचना पालिका तहसम्म विस्तार गरिनेछ । प्रत्येक स्थानीय तहमा समेत शान्ति तथा सद्भाव समिति गठन गरी समुदायस्तरमै शान्ति कायम राख्ने योजना बनाइएको छ ।
समितिले सामाजिक सद्भाव खल्बलिन सक्ने गतिविधि, अफवाह तथा द्वन्द्वका अवस्थामाथि निगरानी गर्ने, सरोकारवाला निकायबीच समन्वय गर्ने तथा आवश्यक परे तत्काल पहल गर्ने जिम्मेवारी लिनेछ ।
प्रशासनका अनुसार विविध समुदाय, भाषा, धर्म र संस्कृतिको संगम रहेको धनुषामा शान्ति र सहअस्तित्व प्रवर्द्धन गर्न यस समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
आगामी दिनमा समितिमार्फत सचेतनामूलक कार्यक्रम, अन्तरसंवाद र सामुदायिक समन्वय गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ ।




