महोत्तरी- अहिले बिहानको समय बाक्लो हुस्सुले घेरेको हुन्छ । चिसोले कठयांग्रिने अवस्था छ तर मतदाता नामावली संकलन केन्द्रमा भने भिड त्यतीकै छ । मतदाता नामाबलीमा नाम दर्ता गराउन महिला तथा पुरुषको भिड अत्यधिक देखिएको छ ।
केन्द्रहरुमा चिसो छल्दै बालबच्चा समेत नागरिकहरुको आउने क्रम जारी छ । अझै उनीहरु कार्यालय खुल्नु भन्दा निक्कै अगावै आएर लाईनमा वस्छन । भिडभाड अत्यधिक हुने गरेपछि दिनभरि कुर्दा समेत पालो नआउने डरले उनीहरु विहान देखि नै लाईनमा वसेका हुन्छन ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीको कार्यालयमै संचालनमा रहेको मतदाता नामावली संकलन केन्द्रमा विहिवार ह्वात्तै भिड देखियो । विहिवार जलेश्वर स्थित कार्यालयमा १६३,गौशालामा ९२,रामगोपालपुरमा ७६ र बर्दिवास स्थित संकलन केन्द्रमा ८९ जनाले नाम दर्ता गराए ।
यो वाहेक महोत्तरीमा गत श्रावण देखि मंसिरसम्म पैतालिस हजार ७८ जनाले नाम दर्ता गराईसकेका छन भने पौष महिनाको तथ्यांक आउन बाकि छ । उक्त मंसिरसम्मको तथ्यांकमा चौबिस हजार ६८ जनाले पालिकाहरुमा चलेको विशेष कार्यक्रम २०७८ अन्तर्गत नाम दर्ता गराएका हुन ।
उक्त कार्यक्रम गत मंसिर देखि पौष १८ गतेसम्म दुई चरणमा महोत्तरीका १२ पालिका र ४ नियमित संकलन केन्द्र मार्फत संकलन गरिएको थियो ।
तथापी संकलन केन्द्रहरु अझै नियमित प्रकृया अन्तर्गत भएको र यो अहिले केन्द्रबाट निर्देशन नभएसम्मको लागि नियमित चलिराख्ने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख सुवोध कुमार महतोले बताए । उनले नाम संकलन केन्द्रमा अत्यधिक भिड गर्नुको औचित्य नभएको र अझै निर्देशन नआउन्जेल नामाबली संकलन भैराख्ने भएकोले कतै नाम दर्ता गराउन छुट्छ कि भन्ने चिन्ता नलिन र मौसम तथा भिड अनुकुल नाम संकलन केन्द्रबाट सेवा लिन आग्रह गर्छन ।
राजनितिकर्मीहरु सकृय ः
यता नामाबली संकलन केन्द्रहरुमा नाम दर्ता गराउनेहरुमा ४५ वर्ष नाघेकाहरुको संख्या पनि उल्लेख्य देखिएको छ । एउटा मतदाताले समेत निर्वाचनमा फरक पार्न सक्ने भएकोले अहिले मतदाता नामाबलीमा नाम दर्ता गराउन राजनितीकर्मीहरुले जनतालाई जागरुक गराउन थालेका छन ।
गत स्थानिय तहकै चुनावमा केहि मतको झिनो मतान्तरले पराजय भएका तत्कालिन उम्मेदवारहरु समेतले मतदाताको महत्व बुझ्दै केन्द्रसम्म नाम दर्ता गराउन छुटेकाहरुलाई पुर्याउन थालेका छन । राजनितिकर्मीहरुको प्रयासले समेत नाम छुटेकाहरु समेत नाम दर्ता गराउन आउन थालेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख महतो बताउछन ।
महोत्तरीमा २०७४मा भएको स्थानिय तहको निर्वाचनमा पुरुष मतदाता १,६३,४७७ महिला मतदाता १,४४,९३१ र तेस्रो लिंगी १ गरि कुल ३,०८,४०९ रहेको थियो । गत वर्षको पुष ५ गतेसम्म महोत्तरीमा कुल मतदाताको संख्या तिनलाख छत्तिस हजार ९५ छ ।