महोत्तरी - जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतसँग सीमा जोडिएका क्षेत्रका विभिन्न मतदान केन्द्र तथा मतदान स्थलहरूको स्थलगत अनुगमन तीव्र पारेको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सीमा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ।

अनुगमन टोलीले मतदान केन्द्रहरूको भौतिक अवस्था, सुरक्षा प्रबन्ध, मतदाताको सहज पहुँच तथा आवश्यक पूर्वतयारीको अवस्थाबारे विस्तृत जानकारी लिएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिती तथा आवतजावतको अवस्थासमेत अवलोकन गरिएको जनाइएको छ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले अनुगमनका क्रममा मतदाताहरूमा उल्लेखनीय उत्साह देखिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,मतदान केन्द्र वरपरका स्थानीय बासिन्दा निर्वाचनप्रति सकारात्मक र उत्साहित देखिनुभएको छ। शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी भइरहेको छ।

प्रशासनका अनुसार सीमा क्षेत्रका मतदान केन्द्रहरूको नियमित अनुगमनले निर्वाचनलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ बनाइएको जनाउँदै सीमा क्षेत्र भएकाले विशेष सतर्कता अपनाइएको बताइएको छ।




