विद्यार्थीहरूको सूचना प्रविधि शिक्षामा पहुँच विस्तार गर्न बैंकको सहयोग
रौतहट – ज्योति विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमअन्तर्गत रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ९ स्थित श्री माध्यमिक विद्यालय, नयाँ गम्हरिया श्रीपुरलाई करिब एक लाख रुपैयाँ बराबरका दुई सेट डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको छ।



विद्यार्थीहरूलाई आधुनिक सूचना प्रविधिसँग परिचित गराउने, कम्प्युटर शिक्षामा सहज पहुँच विस्तार गर्ने तथा उनीहरूको प्राविधिक ज्ञान र व्यावहारिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त शैक्षिक सामग्री उपलब्ध गराएको हो।
बैंकको चपुर शाखाको समन्वयमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरी र चपुर शाखाका शाखा प्रबन्धक सन्दीप कुमार स्तोगी लगायत बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम आधार पासवान, शिक्षक तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो।

विद्यालयमा हाल बालविकासदेखि कक्षा १२ सम्म नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ। करिब एक हजार पाच सय विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा कम्प्युटरको उपलब्धताले सूचना प्रविधिसम्बन्धी शिक्षालाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरीले बैंकको भूमिका वित्तीय सेवा प्रवाह र व्यावसायिक कारोबारमा मात्र सीमित नरही समाजको समग्र विकास र समुदायको जीवनस्तर सुधारमा समेत केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।
उनले ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई आफ्नो महत्त्वपूर्ण दायित्वका रूपमा लिँदै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा निरन्तर सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। बैंकले विभिन्न विद्यालय तथा सामाजिक संस्थाहरूलाई शैक्षिक एवं स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध गराउदै आएको जानकारी दिए।

प्रदेश प्रमुख गिरीले आधुनिक युगमा सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप अपरिहार्य बन्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समयानुकूल, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षासँग जोड्न यस्ता सहयोगले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
साथै, उनले विद्यालयको आवश्यकता र उपलब्ध स्रोतसाधनलाई मध्यनजर गर्दै आगामी दिनहरूमा समेत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम आधार पासवानले विद्यार्थीहरूको शैक्षिक विकासका लागि महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको भन्दै ज्योति विकास बैंकप्रति आभार व्यक्त गरे।
उनले विद्यालयमा प्राप्त कम्प्युटरहरूले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै कम्प्युटर शिक्षालाई थप व्यावहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको संख्याको तुलनामा आवश्यक भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री अझै पर्याप्त नरहेको उल्लेख गर्दै प्रधानाध्यापक पासवानले यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, आगामी दिनहरूमा समेत बैंक तथा अन्य सहयोगी संस्थाहरूबाट यस्तै प्रकारका सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले वित्तीय सेवासँगै समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा शैक्षिक विकासमा योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।




