महेन्द्रनगर (धनुषा)। धनुषा क्षेत्र नं. ४ अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरमा नेपाली कांग्रेसको वडा स्तरीय भेला सम्पन्न भएको छ । आगामी प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै उक्त भेला आयोजना गरिएको हो ।

भेला क्षिरेश्वरनाथ नगरपालिकाका नगर अध्यक्ष लाल बाबु यादवको अध्यक्षतामा तथा नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महेन्द्र यादवले आगामी निर्वाचन लोकतन्त्रको सुदृढीकरणका लागि निर्णायक हुने बताउनुभयो । उहाँले कांग्रेस पार्टी जनताको अधिकार, विकास र समावेशी लोकतन्त्रको पक्षमा निरन्तर उभिँदै आएको उल्लेख गर्दै भन्नुभयो , "यो चुनाव केवल व्यक्ति जित्ने वा हार्ने विषय होइन, यो जनताको भविष्यसँग जोडिएको चुनाव हो । त्यसैले सबै कार्यकर्ता एकताबद्ध भएर घर–घरमा कांग्रेसको एजेन्डा पु¥याउन जरुरी छ ।"

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियारले कांग्रेस पार्टी जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै संगठन विस्तार र कार्यकर्ता परिचालनमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "जनताको सुख–दुःखमा सधैं साथ दिने पार्टी कांग्रेस हो । आगामी निर्वाचनमा त्यसको पुष्टि हुने गरी हामी सबै मैदानमा खटिनुपर्छ ।"

भेलाका अध्यक्ष तथा नगर अध्यक्ष लाल बाबु यादवले संगठन मजबुत बनाउन वडा तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, "वडा तहबाटै संगठन बलियो भए मात्रै चुनावमा अपेक्षित सफलता हासिल गर्न सकिन्छ । सबै कार्यकर्ताले अनुशासन र एकताका साथ पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।"

नगर उपसभापति अजय साहको स्वागतमन्तव्य बाट सुरु भएको उक्त भेलामा साहले चुनावी प्रचार भनेको केवल नारा नभएर जनताको घर आँगन सम्म पुगेर काँग्रेसका विचार, निति र प्रतिबद्धता पुर्याउने अभियान भएको बताउनुभयो ।

भेलामा धनुषा क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न वडाका वडा सभापतिहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी, प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेलामा अन्य पार्टी परित्याग दर्जन बढी नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए भने आगामी दिनमा वडा तथा टोल स्तरमा थप कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।





