
महोत्तरी - गौशालामा चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गौशला स्थित एक घरबाट गरगहना चोरी भएको छ । गौशालाको इलाका प्रहरी कार्यालयको १०० मिटरको दुरीमा रहेको शान्ति टोलमा कोठा भाडामा लिएर बस्दै आएका नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका लेखा प्रमुख शम्भु प्रसाद साहको रूमबाट लाखौको गरगहना चोरी भएको हो । लेखा प्रमुख गौशाला नगरपालिका वडा नम्बर ५ शान्तिटोल स्थित रहेको रामछविलालको घरमा भाडामा लिएर बस्दै आएका थिए । शुक्रबार उनि अफिस गएको बेला कोठाको ताल्चा फोडेर चोरी भएको लेखा प्रमुख साहले जानकारी दिए ।
घरबाट करिब ६ तोला सुन , ४० तोला चाँदी र १ लाख ५० हजार नगद चोरी भएको उनले बताए । त्यस्तै बिहिवार नै गौशाला वडा न. १० बटौवा निवासी नेपाल नेपाल विद्युत प्राधिकरण गौशला वितरण केन्द्रका अर्का कर्मचारी नागेन्द्र मण्डलको बजाज कम्पनीको एभेन्जर मोटरसाइकल घरबाटै चोरी भएको छ । गत बैशाख २३ गते नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारी ललित यादवको पनि कोठाबाट लाखौ बराबरको गरगहाना गौशाला कृष्णनगरबाट चोरी भएको थियो । यसरी लगातार गौशालामा तीन ओटा चोरी त्यो पनि विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारीको भएको छ। उनीहरुले ईलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
गौशालामा चोरीको घटना बढेपछी जनसमुदाय त्रसित भएका छन् । चोरी मात्र नभएर गौशालामा समय समयमा ग्यांग फाइट,लुटपाट,कुटपिटको घटना बढेको छ तर प्रहरी प्रशासन मौन रहेको एक स्थानीय बताउँछन् । त्यसमाथि आज प्रहरी कार्यालय अगाडीकै ठाउँबाट चोरी भएपछी प्रहरीहरुले सुरक्षा सेवामा कमि गरेको स्थानीयहरुको भनाई छ । रातिको समयमा प्रहरीको निगरानी पुरै फितलो रहेको स्थानियको छ ।