महोत्तरी - प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै क्षेत्र नम्बर ३ सबैभन्दा बढी चर्चामा आएको छ । चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै ४२ जनाले उम्मेदवारी दर्ता गराएकाले यहाँको प्रतिस्पर्धा रोचक र जटिल बन्ने देखिएको छ ।
अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए । यसपटक भने उनकी छोरी मिनाक्षी झा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेकी छन् । क्षेत्र नम्बर ३ मा राष्ट्रिय दल, नयाँ राजनीतिक शक्ति, क्षेत्रीय दल तथा स्वतन्त्र उम्मेदवारको बाक्लो उपस्थिति देखिन्छ ।
नेपाली कांग्रेसबाट बजरंग नेपाली उम्मेदवार छन् । उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै अधिकारको नाममा मधेसी जनतालाई ठग्ने प्रवृत्तिको अन्त्य गर्ने बताएका छन् । आफूले लामो समयदेखि आम नागरिकका बिचमा काम गर्दै आएको उल्लेख गर्दै पार्टीले त्यसको मूल्याङ्कन गरी उम्मेदवार बनाएको उनको भनाइ छ ।
नेकपा (एमाले)बाट मनोज सिंह उम्मेदवार बनेका छन् ।
उनले जनताको समस्या पर्दा सधैं अगाडि रहने प्रतिबद्धता व्यक्त गरेका छन् । जलेश्वर नगरपालिका–९ का वडाध्यक्ष हुँदा सीमित बजेटमै उल्लेखनीय काम गरेको दाबी गर्दै जनताले पुनः विश्वास गर्ने अपेक्षा व्यक्त गरेका छन् ।नेपाली कम्युनिस्ट पार्टीबाट राजकिशोर साह उम्मेदवार छन् । उनले झुटो आश्वासन दिएर राजनीति गर्ने प्रवृत्ति बन्द हुनुपर्ने बताए । गरिब, निमुखा, दलित, मुस्लिम तथा पहुँचविहीन समुदायका पक्षमा संसद्मा आवाज उठाउने उनको प्रतिबद्धता छ ।
जसपा नेपालकी उम्मेदवार मिनाक्षी झाले मधेसी जनताको अधिकारलाई पूर्णता दिलाउने, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन् । जितेपछि मधेसको हक–अधिकारका लागि संसद्मा मजबुत भूमिका खेल्ने उनको भनाइ छ ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्ज्वल झा उम्मेदवार छन् । उनले संघीयताको नाममा जनतालाई धोका दिइएको आरोप लगाउँदै संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
जनमत पार्टीबाट अरबिन्द ठाकुर उम्मेदवार बनेका छन् । उनले मधेस प्रदेशमा पार्टीले जनताको विश्वास जितिसकेको दाबी गर्दै अब बाँकी रहेका अधिकार जनतासम्म पुर्याउने बताए । ‘धेरै बोल्ने होइन, धेरै काम गर्ने पार्टीका रूपमा जनमतलाई स्थापित गर्ने लक्ष्य छ,’ उनले भने ।
नेपाल संघीय समाजवादी पार्टीबाट रिजवान अन्सारी उम्मेदवार छन् । उनले सत्ताको खेलले जनतालाई धेरै ठगिसकेको भन्दै अब जनता सचेत भइसकेको बताए । पार्टी सधैं जनताको बिचमै रहने प्रतिबद्धता उनले जनाएका छन् ।यस क्षेत्रका केही दलभित्र असन्तुष्टि पनि देखिएको छ । एमालेबाट टिकट नपाएपछि रामआधार कापर र जसपा नेपालबाट टिकट नपाएपछि पूर्वमन्त्री हरिनारायण यादव स्वतन्त्र उम्मेदवार बनेका छन् । दुवैले जनताको विश्वासका आधारमा विजयी हुने दाबी गरेका छन् ।
यसपटक महोत्तरी–३ मा मतदाताको प्राथमिकतामा परिवर्तन देखिएको छ । भाषणभन्दा काम र आश्वासनभन्दा परिणाम खोज्ने प्रवृत्ति बढ्दै गएको छ । विकास, रोजगारी, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य मुख्य चुनावी मुद्दा बनेका छन् ।
४२ उम्मेदवार रहेकाले मत विभाजनको सम्भावना उच्च देखिन्छ । सानो मतान्तरले पनि नतिजा फेरिन सक्ने अवस्थामा मनोनयनपछि प्रचारप्रसार तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो, आमसभा तथा सामाजिक सञ्जालमार्फत मतदातासम्म पुग्ने प्रयासमा जुटेका छन् ।
अघिल्लो पटक महन्थ ठाकुर विजयी भएको यस क्षेत्रमा यसपटकको नतिजा कसको पक्षमा जाने हो भन्ने निर्णय मतदानपछि मात्रै स्पष्ट हुने देखिएको छ ।




