महोत्तरी - महोत्तरी जिल्लाको औरही नगरपालिका–२ स्थित औरही गाउँमा रहेको ऐतिहासिक तथा पौराणिक महत्वको रामजानकी कुटीको संरक्षण, व्यवस्थापन तथा सञ्चालनका लागि सर्वसम्मतिबाट समिति गठन गरिएको छ।
वर्षौंदेखि विभिन्न समस्या झेल्दै आएको कुटीको संरक्षण गर्ने, नियमित सञ्चालनका लागि आर्थिक संकलन गर्ने तथा कुटीको नाममा रहेको जग्गा केही व्यक्तिहरूले अतिक्रमण गरेकाले उक्त जग्गा फिर्ता गराउने निर्णय समितिको पहिलो बैठकबाट गरिएको हो। साथै कुटी सञ्चालनका लागि आर्थिक कोष खडा गर्ने र कुटीमा महन्थको स्थायी व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको समितिले जनाएको छ।

गठन गरिएको समितिको अध्यक्षमा अच्छेलाल यादव रहनुभएको छ भने सदस्यहरूमा बिमल यादव, रामब्रण ठाकुर, धर्वेन्द्र कुमार यादव, श्रीप्रसाद महरा र अमिन चौधरी रहनुभएको छ। त्यसैगरी सल्लाहकार समितिमा राज कर्ण यादव, योगेन्द्र यादव, बिन्देश्वर यादव, छबिलाल यादव, सिताशरण यादव, नागेन्द्र यादव, शंकर यादव, रामपुकार यादव र सुजित कुमार यादव रहनुभएको छ।

स्थानीय घनश्याम यादवले रामजानकी कुटी औरही गाउँको धार्मिक मात्र नभई ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक पहिचानको केन्द्र भएको बताउनुभयो। उहाँले लामो समयदेखि उपेक्षित अवस्थामा रहेको कुटीको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै समितिको गठनसँगै यसको धार्मिक गरिमा कायम रहने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी अर्का स्थानीय निर्सु महराले कुटीमा देखिएका अनुशासनहीन गतिविधिप्रति ध्यानाकर्षण गराउनुभयो। उहाँका अनुसार केही गाउँकै व्यक्तिहरू दिनरात कुटीमै बस्ने, महन्थसँग विवाद गर्न जाने तथा कुटीलाई निजी आवाससरह प्रयोग गर्ने अवस्था रहेको छ। कुटीमा तास खेल्ने, शौचालय र खानेपानीको कलको दुरुपयोग गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले यस्ता गतिविधि तत्काल अन्त्य गर्नुपर्ने बताउनुभयो।

महराले समितिले कुटीमा स्पष्ट नियम बनाउनु पर्ने सुझाव दिँदै पूजा गर्न आउने भक्तजनले मात्र खानेपानी प्रयोग गर्न पाउने, बाहिरबाट आएका श्रद्धालुका लागि मात्रै कुटीमा भोजको व्यवस्था हुने र गाउँकै व्यक्तिहरूले कुटीलाई बसोबास वा भोजनस्थलका रूपमा प्रयोग गर्न नपाउने व्यवस्था गर्नुपर्ने अनुरोध गर्नुभयो।

केही दिनअघि महन्थ नहुँदा रामजानकी कुटी सुनसान बनेको अवस्थामा रहेको उल्लेख गर्दै कुटीको धार्मिक गतिविधि निरन्तरता दिन गाउँलेहरूको सहमतिमा बाहिरबाट एक जना महन्थ ल्याइएको समितिले जनाएको छ। उक्त महन्थलाई यही माघ१८ गते औपचारिक रूपमा महन्थी हस्तान्तरण गरिने कार्यक्रम तय गरिएको छ।

कार्यक्रम सञ्चालन तथा कुटी व्यवस्थापनका लागि केही आर्थिक खर्च लाग्ने भएकाले सम्पूर्ण गाउँबासी तथा शुभेच्छुकहरूलाई आ–आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न समितिले आग्रह गरेको छ।






