धेरै मतदाता र ६० निर्वाचन क्षेत्र भएकाले प्रमुख दलहरूको नजर पनि कोशी र मधेशमै केन्द्रित
३५ लाखभन्दा बढी मतदाता रहेको कोशी र ३६ लाखभन्दा बढी मतदाता रहेको मधेश प्रदेश समग्र निर्वाचनको परिणाम र गणित बदल्न सक्ने निर्णायक प्रदेश हुन् । त्यसमाथि कोशीमा दुई र मधेशमा एकजना भावी प्रधानमन्त्रीका दाबेदार चुनावी मैदानमा छन् । उनीहरूको अनुहार र धेरै मतदाता रहेका कारण प्रमुख दलहरू मात्रै होइन, सिंगो देशकै नजर अहिले कोशी र मधेशमा केन्द्रित छ ।



झापा ५ मा भावी प्रधानमन्त्रीका दुई दाबेदार एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबिचको प्रतिष्ठाको भिडन्त र मधेशमा कांग्रेस सभापति गगन थापा, जसपा अध्यक्ष उपेन्द्र यादवदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसम्मका शीर्ष नेताको केन्द्रीकरणले यी दुई प्रदेशलाई चुनावी इपिसेन्टर बनाएको छ ।
हुन त आसन्न निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रका विभिन्न दलका उम्मेदवार चुनावी मैदानमा छन् । प्रधानमन्त्रीका फेसदेखि शीर्ष नेताहरू चुनावी मैदानमा हुनु र निर्वाचन क्षेत्र तथा मतदाता संख्याका आधारमा निर्णायक रहेकाले चुनावको चाप मधेश र कोशीमा धेरै छ । यी दुई प्रदेशमा लिने अग्रता नै हरकोही दलको शक्ति विस्तारका लागि महत्वपूर्ण हुनेछ ।
झापा–५ मा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीसँग रास्वपा वरिष्ठ नेतासमेत रहेका काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र भिड्न गएका छन् । यो यस्तो भिडन्त हो, जहाँबाट पहिलो रेसमै एकजना प्रधानमन्त्रीका दाबेदार बाहिरिनेछन् । यसैले ओली–बालेन भिडन्तमा स्थानीय मात्र होइन हरेक मतदाता, उम्मेदवार, राजनीतिक दल र नेपालको राजनीतिमा चासो राख्ने अन्तर्राष्ट्रिय शक्ति केन्द्रको समेत चासो छ ।
३२ निर्वाचन क्षेत्र तथा ३६ लाख ३६ हजार ४१४ मतदाता रहेको मधेशको नतिजा आफ्नो पक्षमा पार्न कांग्रेस सभापति थापा काठमाडौं–४ को परम्परागत सिट छाडेर सर्लाही ४ झरेका छन् । विशेष महाधिवेशनबाट तत्कालीन सभापति शेरबहादुर देउवालाई पदमुक्त गरेर सभापति बनेका थापाले ‘बदल्यौँ कांग्रेस, बदल्नेछौँ देश’ भन्ने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले पार्टीबाट थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । उनी सोमबार सर्लाही पुगेका छन् । महामन्त्री प्रदीप पौडेलले पार्टी सभापतिलाई मधेशमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको बताए । ‘देशको जग मधेश हो । हामी हाम्रो सभापतिलाई मधेशमा उभ्याएर देश निर्माण गर्न चाहन्छौँ,’ पौडेल भन्छन्, ‘मधेशको जगबाट नेपालको निर्माण गर्न चाहन्छौँ ।’
तर, तीनपटकका सांसद अमरेश सिंह थापाका लागि चुनौती बनेका छन् । थापाको जित–हारमा कांग्रेसमा नयाँ पुस्ताको प्रतिष्ठा जोडिएकाले सर्लाही– ४ रणनीतिक लडाइँ छ । चुनावअगाडि रास्वपा प्रवेश गरेका सिंहले थापालाई रोक्न सके उनको राजनीतिक उचाइ त बढ्ने नै छ, यसले कांग्रेसको समग्र शक्तिलाई नै कठोर झड्का दिनेछ ।
मधेश आन्दोलनबाट उदाएका नेता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै नेताहरू राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमतका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादव, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारी र समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनाल मधेश प्रदेशबाटै जनताको इजलासमा उभिएका छन् ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका नारायणकाजी श्रेष्ठ, कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधि, नेकपा एमालेका सहमहासचिव रघुवीर महासेठदेखि लिएर चुनावी सरकारका निवर्तमान मन्त्री बब्लु गुप्तासम्मले मधेशबाट संसदीय यात्रा अघि बढाउने प्रयास गरिरहेका छन् ।
अर्काेतर्फ धरान उपमहानगरका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट चुनावमा होमिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा–३ तथा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना पनि आमनेसामने हुँदा चुनावी चहलपहल झनै बढेको छ ।
ओली–बालेन टक्करले बढाएको सरगर्मी
कोशी प्रदेशमा झापा–५ का कारण चुनावी चर्चा धेरै रहेको राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल बताउँछन् । ‘कोशी प्रदेशचाहिँ ओली–बालेनका कारण चर्चामा छ । भावी प्रधानमन्त्रीको उम्मेदवार भएका कारण पनि चर्चा भएको हो,’ उनी भन्छन्, ‘बालेनको क्रेजका कारणले सबैको चासो यहाँ छ । अहिले यहाँका नागरिकहरू बालेन कहाँ छन् भनेर खोज्न थालेका छन् । उनी कहाँ गए, कहाँ बसे भन्ने पनि चर्चाको विषय बन्न थालेको छ । झापामा मात्र हैन विराटनगर पनि बालेन आइदिए हुन्थ्यो भन्नेको भिड छ ।’
‘इलेक्सन इपिसेन्टर’ झापा– ५ मा केपी–बालेनको प्रतिष्ठाको लडाइँ हुँदै छ । ओली आफ्नो परम्परागत निर्वाचन क्षेत्रलाई सुरक्षित राख्ने दाउमा छन् । ०४८ यताको हालसम्मको निर्वाचनमा ०६४ मा मात्र उनी पराजित भएका थिए । उनी यो क्षेत्रबाट सातौँपटक प्रतिनिधित्व गर्ने दाउमा छन् । तर, उनको परम्परागत निर्वाचन क्षेत्रमा यसपटक बालेनले चुनौती दिएका छन् । झापा–५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा नौ हजार ९० नयाँ मतदाता थपिएका हुन् ।
एमाले कार्यकर्ता नै बालेनका कारण चुनौती भएको बताउँदै आएका छन् । ओलीले असुरक्षा महसुस गरेर नै यसपटक चार दिन झापा बिताए । विगतमा मनोनयनलगत्तै काठमाडौं फर्कने ओली यसपटक भने निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट र पार्टी बैठकमा समय बिताए ।
शुक्रबार मात्र काठमाडौं फर्किएका ओलीले चाँडै झापा आएर भेटघाट गर्ने कार्यकर्तामाझ वाचा गरे । ‘तपाईंहरूले विगतको भन्दा सक्रियता दोब्बर बनाएर लाग्नुहोस्,’ काठमाडौं फर्कनुअघि गौरादहको कार्यक्रममा ओलीले भने, ‘म फेरि आउनेछु । आएर छलफल गर्नेछु ।’
एमाले झापा–५ निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले ओली छिट्टै झापा आउने बताए । ‘उहाँ (ओली) कै नेतृत्वमा घोषणपत्र तयार गर्ने समिति छ । त्यसकै लागि काठमाडौं जानुभएको हो,’ उनले भने, ‘त्यो सकेर छिट्टै आउनुहुन्छ । तर, मिति तय भएको छैन ।’
झापाका मतदाता पनि चुनावी माहोल नजिकबाट नियालिरहेका छन् । ‘गाउँसम्म उम्मेदवार त आएका छैनन् । तर, नेताले गर्ने कार्यक्रममा कार्यकर्ता जान थालेका छन् । गाउँमा चुनावी चर्चा सुरु भएको छ,’ कमल गाउँपालिका– ४ की देवीमाया नेपालले भनिन्, ‘मनोनयन दर्ता नभएसम्म खासै चासो थिएन । तर, अहिले ओली र बालेनको चर्चा गाउँसम्म आएको छ ।’
कमल गाउँपालिका–४ का रामप्रसाद राईले चुनावी चहलपहल ह्वात्तै बढेको बताए । ‘प्रधानमन्त्रीका लागि भनेर ओली र बालेन चुनाव लड्न आएका छन् । गाउँमा उनीहरूको धेरै चर्चा छ,’ उनले भने, ‘भोट माग्न गाउँमा कोही आएका छैनन् । अब उम्मेदवार र पार्टीका नेता, कार्यकर्ता आएपछि चुनाव तात्ला नि ।
कमल गाउँपालिका– ४ का कृष्णप्रसाद खतिवडाले आफूहरू भोट हाल्न उत्साही भएको बताए । ‘पहिला केपी ओलीलाई चुनौती दिने उम्मेदवार खासै आएका थिएनन् । अहिले बालेन आएपछि माहोल बढेको छ,’ उनले भने, ‘यसपटक चुनाव निकै प्रतिस्पर्धा होला जस्तो छ । हामी त भोट हाल्न उत्साहित छौँ ।’
कमल गाउँपालिका–२ का कमल सोरेनले भने जताततै चुनावकै मात्र चर्चा भइरहे पनि गाउँमा उम्मेदवार आइनसकेको बताए । ‘गाउँमा आएपछि झनै माहोल तातिएला । हामी सुकुमवासीलाई सबैभन्दा ठुलो धनीपुर्जाको कुरा हो । पहिलादेखिको चुनावमा पनि हामीलाई धनीपुर्जा दिन्छु भन्थे । तर, अहिलेसम्म पाइएन । गाउँमा उम्मेदवार आउँछन् र हामी हाम्रो गुनासो सुनाउन पाउँछौँ भन्ने लागेको छ,’ उनले भने ।
झापा–५ मा ०७४ यताको निर्वाचनमा ओलीले राप्रपासँग तालमेल गर्दै आएका थिए । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाएर यो क्षेत्रमा राप्रपाले ओलीलाई सघाउँदै आएको थियो । यद्यपि, यसपटक भने राप्रपाले यो क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको छ भने झापा ३ मा एमालेले पनि आफ्नै उम्मेदवार उठाएको छ ।
झापा–५ का लागि बालेनको सचिवालय टिम चुनावी रणनीति बनाउन व्यस्त छ । झापा–५ मा ओलीलाई हराएर इतिहास रच्ने बालेनको दाउ छ ।
मनोनयनको भोलिपल्ट नै दमकका मतदाता भेटेर इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका बालेन तेह्रथुम हुँदै काठमाडौं फर्केका थिए । सोमबारदेखि उनी पश्चिम नेपालको यात्रामा निस्केका छन् । उनको सचिवालयका अनुसार अझै केही दिन देशका अन्य निर्वाचन क्षेत्रमा पुगेर मात्र बालेन झापा आउनेछन् । त्यसपछि घरदैलो र अन्य चुनावी कार्यक्रम तय गरिने बालेनको सचिवालयले जनाएको छ ।
यसपटक झापा ५ को निर्वाचन रोचक हुने राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल बताउँछन् । ओलीलाई बालेनले चुनौती दिएको उनको भनाइ छ । जेन–जी आन्दोलनपछि कसैको गढ नरहेका कारण मतको पूर्वानुमान गर्न नसकिने उनको बुझाइ छ । ‘जेन–जी आन्दोलनपछि कुनै ठाउँ कसैको गढमा छैन । आन्दोलनपछि सबैको मथिंगल हल्लिएको छ । हरेक परिवारमा जेन–जी छन् । हरेक परिवारका सदस्य विदेशमा छन् । यो नबुझी र अध्ययन नगरी बालेन झापा ५ मा गएका छैनन्,’ उनले भने, ‘नागरिकले परिवर्तन चाहेका छन् । ओलीको ढुक्क हुने अवस्था छैन । बालेनले चुनौती दिएका छन् । बालेनको क्रेज भोटमा परिणत हुन्छ । तसर्थ, अहिले पूर्वानुमान गर्न सक्ने अवस्था छैन ।’
दलहरूको ध्यान मधेशमा
२३ र २४ भदौको जेन–जी विद्रोहका कारण दुई वर्षअगाडि नै आइलागेको चुनावबाट आउन सक्ने परिणामबारे अनेकन अड्कलबाजी छन् । तर, दलहरूको ध्यान भने मधेशमा अझ बढी देखिन्छ । रास्वपाले त मनोनयन दर्ताको अघिल्लो दिन ५ माघमा जनकपुरमा ‘परिवर्तन सभा’ आयोजना गरेर मधेशबाट चुनावी अभियान थाल्यो । सभापति रवि लामिछानेसहित सहभागी रहेको सभामा पार्टीबाट प्रधानमन्त्रीका फेस बालेनलाई मधेशी पोसाक (धोती–कुर्ता)मा मञ्चमा उतारेको थियो । मधेश उनको पुख्र्यौली थातथलो हो ।
प्रा. पोखरेलका अनुसार बालेनका कारण मधेशमा पनि चुनावी चर्चा चुलिएको छ । पहिलोपटक मधेशी प्रधानमन्त्री बन्ने कुराले मधेशलाई समेत प्रभाव पारेको उनी बताउँछन् । ‘बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको निर्णयले यो निर्वाचनमा मधेश प्रदेश बढी चर्चामा छ । मधेशी पहिलोपटक प्रधानमन्त्री हुने हुँदा र त्यहाँ गएर राजनीतिक भाषण गरेको कारण तरंग लिएर आयो,’ उनले भने, ‘कांग्रेस सभापति गगन थापा पनि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा मधेश गएर चुनावमा भाग लिँदा चर्चा झन् बढ्यो ।’
गगनलाई मधेशमा पुर्याउँदा फाइदा पुग्ने कांगेस नेताहरूको विश्लेषण छ । कांग्रेसका युवा नेता पर्फुल घिमिरेका अनुसार मधेश कांग्रेसको मेरुदण्ड भए पनि पछिल्ला केही वर्षयता मधेशकेन्द्रित दलहरूले भ्रम सिर्जना गरेर जनतालाई अधिकार र विकासबाट वञ्चित गर्दै आएका छन् । अब कांग्रेसले पुन: आफ्नो विरासत जोगाउन लागेको उनको भनाइ छ । ‘सभापतिले मधेशबाट उम्मेदवारी दिएर मधेशको स्वाभिमान, पहिचान र राज्यको मूल प्रवाहमा सम्मानको सन्देश दिनुभएको छ,’ उनी भन्छन् ।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विगतको चुनावभन्दा यसपटक मधेशबाट कांग्रेसले राम्रो प्रदर्शन गर्ने दाबी गर्छन् । अन्य पार्टीको तुलनामा मधेशमा कांग्रेसको संगठन बलियो रहेको बताउँदै उनी भन्छन्, ‘मधेशका लागि नयाँ दलहरू हावा हुन् । हावाले यसपालि रुख हल्लिँदैन । मधेशमा अघिल्लो चुनावभन्दा कांग्रेसले बढी सिट ल्याउँछ ।’
०७९ सालको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट नेकपा एमालेले जितेको थियो । प्रत्यक्षतर्फ एमालेले नौ, कांग्रेसले आठ, जसपाले ६, लोसपाले तीन, जनमतले एक, संघीय समाजवादी पार्टीले दुई, माओवादी केन्द्रले एक सिट जितेका थिए भने बाँकी स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
समानुपातिकतर्फ मधेश प्रदेशबाट सबैभन्दा बढी मत नेपाली कांग्रेसले पाएको थियो । कांग्रेसले २०.४६ प्रतिशत, एमालेले १७.४९ प्रतिशत, जसपाले १४.०५ प्रतिशत, जनमतले १३.९५ प्रतिशत, माओवादी केन्द्रले ८.४६ प्रतिशत, एकीकृत समाजवादी पार्टीले ५ प्रतिशत, लोसपाले ५.१५ प्रतिशत र रास्वपाले ३.४३ प्रतिशत मत प्राप्त गरेका थिए ।
राजनीतिक विश्लेषक राकेश मिश्र भने कांग्रेसजनले दाबी गरेजस्तो अवस्था नरहेको बताउँछन् । ‘कांग्रेस अझै आधिकारिकता विवादमा अल्झिएको छ र मधेशमा टिकट वितरणमा सुधार देखिएको छैन,’ उनी भन्छन्, ‘सभापति थापा उम्मेदवार बनेको जिल्लामै मधेशी समुदायसँग विभेद भएको देखिन्छ । चार सिटमध्ये तीन सिटमा पहाडी समुदायका उम्मेदवार बनाइएको छ । मधेशी दलितलाई उपेक्षा गरिएको छ । कांग्रेस पुरानै परम्परामा चलेको देखिएको छ ।’
अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरीले जेन–जी आन्दोलनपछि भइरहेको निर्वाचनले पनि मुलुकमा ठुलो परिवर्तन ल्याउने सम्भावना कम रहेको बताउँछन् । ‘चुनावमा प्रविधिको प्रयोग बढेको छ, तर उम्मेदवार र एजेन्डा उही पुरानै छन्,’ उनी भन्छन्, ‘गगनको उम्मेदवारीले मधेशमा प्रत्यक्ष र समानुपातिक दुवैमा प्रभाव पार्न सक्ने भए पनि समग्र अवस्थामा ठुलो उलटफेर आउने सम्भावना छैन ।’
नजिकबाट मधेश पढ्न र बुझ्न आएको हुँ : सभापति थापा
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका कांग्रेस सभापति गगन थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन् । वारेसमार्फत मनोनयन गराई सोमबार उम्मेदवारी दिएको क्षेत्रमा पुगेका थापाले ठाउँठाउँमा मधेशका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई निकै उत्साहित बनाएको सुनाए । सिमरा विमानस्थलबाट ओर्लेपछि सर्लाही ४ मा पुगेर मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेश पढ्न र बुझ्न आएको बताएका हुन् । ‘म मधेश पढ्न र सिक्न आएको हुँ । अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार, संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिन भन्नुभएको थियो,’ उनले भने, ‘म दुई दिनको चटक देखाउन आएको होइन । त्यसैले सबै सिक्छु अनि मात्रै बोल्छु, कसैले लेखेको लाइन म बोल्दिनँ भनिदिएँ ।’
थापाले यहाँका कुनै मतदाताले आफूलाई मत दिएर पछुतो मान्नुपर्ने अवस्था नआउने दाबा गरे । हचुवाको भरमा आफ्ना क्षेत्रका मतदातालाई आश्वासन नबाँड्ने भन्दै उनले आफ्नो विज्ञ समूह क्षेत्रको वस्तुस्थिति बुझ्ने कार्यमा खटिएको बताए । काठमाडौं ४ नम्बर क्षेत्रबाट प्रतिनिधि भएर मधेशका सवाल संसद्मा धेरैपटक उठाएको भन्दै उनले यसपटक मधेश र मधेशका सवाल नजिकबाट बुझ्न यहाँबाट उम्मेदवारी दिएको उल्लेख गरे । एकपटक भए पनि मधेशप्रति समर्पित नभई, मधेशमा आफू र आफूमा मधेश नल्याई सम्पूर्ण रूपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेश झरेको उनले स्पष्ट पारे ।
उम्मेदवारी दर्तापछि मतदाता भेट्न सभापति थापा सोमबार बिहान १०:४५ मा हवाईमार्ग भएर सिमरा ओर्लिएर आफ्नो क्षेत्र आइपुगेका हुन् । सभापति थापालाई सर्लाहीको बागमतीमा स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । त्यसपछि नयाँरोड हुँदै आफ्नो निर्वाचन क्षेत्र झरेका उनी बरहथवा नगरपालिका– ९ स्थित मुक्तेश्वर महादेव मन्दिर दर्शन गरे । त्यसपछि स्थानीय मतदातासँग भेटघाट गर्दै उहाँ ४ नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यालय पुगेका थिए । कार्यालयअगाडि उभिएर थापाले आफ्ना नेता, कार्यकर्ता तथा मतदातालाई १५ मिनेट लामो सम्बोधन गरे । आफू पदीय जिम्मेवारीमा भए पनि कांग्रेसको कार्यकर्ता रहेको भन्दै यहाँका नागरिकको सेवक हुन चाहेको उनको भनाइ छ ।
तीनपटक काठमाडौं ४ बाट चुनाव जितेका थापा २१ फागुनको चुनावका लागि सर्लाही ४ झरेपछि उनको उम्मेदवारीलाई विशेष महत्वका साथ हेरिएको छ । यस क्षेत्रका निवर्तमान सांसद अमरेशकुमार सिंह रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेसी राजनीतिसँग चिरपरिचित सिंह कांग्रेस उम्मेदवारसँग दोस्रोपटक मैदानमा उत्रिँदै छन् । ०७९ को चुनावमा सिंहले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । यस पहिलाको निर्वाचनभन्दा यसपटकको चुनावमा आफ्नो जनमत बढ्ने उनले दाबीसमेत गरे ।
बर्दियामै रोकिए बालेन, आज सुदूरपश्चिम आउने
झापा– ५ मा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रास्वपा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका दाबेदार बालेन शाह मंगलबार कैलाली आउने भएका छन् । पहिलो चरणमा पूर्वी नेपालको यात्रा सकाएका बालेन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालगन्ज ओर्लिएका थिए । नेपालगन्जमा पार्टीका कार्यकर्तासँगै समर्थकले भव्य स्वागत गरे । उनी नेपालगन्जस्थित पार्टी कार्यालय पनि पुगे । उनलाई कोहलपुर तथा बर्दियाका बाँसगढी, मैनापोखरी र ठाकुरद्वारामा भव्य स्वागत गरियो ।
बालेन सोमबार नै सुदूरपश्चिम पुग्ने योजनासहित बिहान नेपालगन्ज पुग्ने कार्यतालिका थियो । तर, हुस्सुका कारण नेपालगन्ज विमानस्थल मध्याह्न मात्र खुल्दा उनी सोमबार बर्दियाको ठाकुरद्वारामै बसेका हुन् । सोमबार बाँके र बर्दियामा रास्वपा उम्मेदवारसँग पनि सामूहिक छलफल गरेका छन् ।उनी कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लासमेत पुग्नेछन् । मंगलबार कैलालीमा टीकापुर तथा लम्कीसहित राजमार्गका विभिन्न ठाउँ र धनगढीमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा नेता भूपदेव शाहले बताए । उनी मंगलबार नै कञ्चनपुर पुग्नेछन् ।
‘सकभर सुदूरपश्चिमका नौवटै जिल्ला पुग्ने भन्ने छ,’ शाहले भने, ‘डडेल्धुरा पुगेपछि पहाडका थप अरू कुन–कुन ठाउँ पुग्ने भन्ने तय हुन्छ ।’ बालेनका पूर्वस्वकीय सचिवसमेत रहेका शाह अछाम– २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । चुनावी यात्राका क्रममा उनको निर्वाचन क्षेत्रमा पनि बालेन पुग्नेछन् । रास्वपा नेता दीपक बोहरा उम्मेदवार रहेको कञ्चनपुर– २, आनन्दबहादुर चन्द उम्मेदवार रहेको कैलाली– ५, केपी खनाल उम्मेदवार रहेको कैलाली– २ लगायत क्षेत्रमा बालेन पुग्ने कार्यक्रम रहेको रास्वपाका एक नेताले बताए । सुदूरपश्चिमको भ्रमणपछि उनी कर्णालीको राजधानी सुर्खेत जाने कार्यक्रम छ । १३ पुसमा रास्वपासँग सातबुँदे सहमति गरेर संसदीय राजनीतिमा होमिएका बालेनले ४ माघमा काठमाडौंको मेयर पदबाट राजीनामा दिएका थिए । त्यसपछि ५ माघमा जनकपुर गएर स्थानीय मैथिली भाषामा पहिलो सार्वजनिक सम्बोधन गरेका थिए । २१ फागुनको निर्वाचनका लागि यो नै उनको पहिलो चुनावी कार्यक्रम थियो ।
हर्क पनि तताउँदै छन् माहोल
सुनसरी १ बाट उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ०७९ को स्थानीय तहको निर्वाचनबाट राजनीतिमा उदाएका हुन् । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका साम्पाङ आफ्नै शैलीले माहोल तताउँदै छन् । भावी प्रधानमन्त्री आफू भएको दाबी गर्दै चुनावी मैदानमा होमिएका उनी अहिले मत माग्न व्यस्त छन् । उनी उम्मेदवारी दर्ता नै नगराई चुनावी प्रचारमा होमिएका थिए । उनकै उम्मेदवारीका कारण सुनसरी १ पनि गर्माएको छ । सुनसरी १ मा हर्कसँगै २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ कुल एक लाख ५९ हजार ३०३ जना मतदाता छन् ।
प्राध्यापक कृष्ण पोखरेलको विश्लेषण : जेन–जी आन्दोलनपछि सबैको मथिंगल हल्लिएको छ, हरेक परिवारमा जेन–जी छन्
कोशी प्रदेश ओली–बालेनका कारण चर्चामा छ । भावी प्रधानमन्त्रीको उम्मेदवार भएका कारण पनि चर्चा भएको हो । बालेनको क्रेजका कारणले सबैको चासो यहाँ छ । अहिले यहाँका नागरिकहरू बालेन कहाँ छन् भनेर खोज्न थालेका छन् । उनी कहाँ गए, कहाँ बसे भन्ने पनि चर्चाको विषय बन्न थालेको छ । झापामा मात्र होइन विराटनगर पनि बालेन आइदिए हुन्थ्यो भन्नेको भिड छ ।
जेन–जी आन्दोलनपछि कुनै ठाउँ कसैको गढमा छैन । आन्दोलनपछि सबैको मथिंगल हल्लिएको छ । हरेक परिवारमा जेन–जी छन् । हरेक परिवारका सदस्य विदेशमा छन् । यो नबुझी र अध्ययन नगरी बालेन झापा ५ मा गएका छैनन् । नागरिकले परिवर्तन चाहेका छन् । ओलीको ढुक्क हुने अवस्था छैन । बालेनले चुनौती दिएका छन् । बालेनको क्रेज भोटमा परिणत हुन्छ । तसर्थ, अहिले पूर्वानुमान गर्न सक्ने अवस्था छैन । बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको निर्णयले यो निर्वाचनमा मधेश प्रदेश बढी चर्चामा छ । मधेशी पहिलोपटक प्रधानमन्त्री हुने हुँदा र त्यहाँ गएर राजनीतिक भाषण गरेको कारण तरंग लिएर आयो । कांग्रेस सभापति गगन थापा पनि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा मधेश गएर चुनावमा भाग लिँदा चर्चा झन् बढ्यो ।
हर्क साम्पाङ राईको श्रम संस्कृति पार्टीले पूर्वी पहाडमा प्रभाव पार्न सक्छ । यद्यपि, उनका उम्मेदवारले जित्छन् वा अरूलाई हराउँछन् भन्ने अनुमान गर्न सकिँदैन ।-नयाँ पत्रिका




