महोत्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा निर्वाचनको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको आरोपमा पूर्वमन्त्री हरिनारायण यादवसहित आठ जनालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीको नीति र निर्णयविपरीत कार्य गरेको भन्दै जसपा नेपालले बुधबार विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री हरिनारायण यादव, प्रदीप यादव (पर्सा), चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी)लाई कारबाही गरेको जनाएको छ।



मनोनयन दर्ताको क्रममा हरिनारायण यादवले महोत्तरी क्षेत्र नं. ३ बाट पार्टीकी आधिकारिक उम्मेदवार डा. मिनाक्षी ठाकुरविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। उनी हाल चुनावी प्रचारप्रसारमा सक्रिय रहेका छन्।
पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको र पार्टीको हितविपरीत कार्य गरेको ठहर गर्दै आजकै मितिदेखि उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरिएको छ।





