सुजाता राई
विराटनगर। मोरङ क्षेत्र नं. ४ बाट आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि श्रम संस्कृति पार्टीका तर्फबाट कृष्ण अटल उम्मेदवार बनेका छन्। विराटनगर–१० निवासी अटलले श्रम, रोजगारी र सुशासनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै चुनावी मैदानमा उत्रिएको बताएका छन्।
न्यू सृष्टि दैनिकसँग गरिएको अन्तरक्रियामा उनले श्रम संस्कृति पार्टी रोज्नुको कारण स्पष्ट पार्दै भने, “यो पार्टी श्रमको सम्मान र रोजगारी सिर्जनामा विश्वास गर्छ, त्यसैले मैले यो पार्टी रोजेको हुँ।”
उम्मेदवार बन्नुको मूल उद्देश्यबारे उनले भ्रष्टाचार निर्मूल पार्दै विजय हासिल गर्नु आफ्नो लक्ष्य रहेको बताए। उनका अनुसार, “श्रम गरेर मात्रै खाने र रोजगार सिर्जना गर्ने परिपाटी बसाल्न सके भ्रष्टाचार स्वतः अन्त्य हुन्छ।”
भ्रष्टाचार न्यूनीकरणका लागि उनले वर्तमान कर प्रणाली खारेज गरी डिजिटल बैंकिङ प्रणाली लागू गर्ने, वैदेशिक रोजगारीबाट आएको रेमिटेन्सलाई सेयर लगानीमा जोड्ने योजना अघि सारे। साथै, आर्थिक अवस्था कमजोर भएकालाई रोजगारी उपलब्ध गराई ज्यालाको केही अंश सेयरमा लगानी गराउने अवधारणा पनि प्रस्तुत गरे। सरकारी तथा निजी खाली जमिन लिजमा लिएर पर्यटन केन्द्र, पार्क र होटल सञ्चालन गर्ने योजना पनि उनले सुनाए।
क्षेत्रीय विकासका सन्दर्भमा अटलले किसानलाई बीउ, मल, कोल्ड स्टोर र बजारको सुनिश्चितता गर्ने, बालबालिकालाई निःशुल्क शिक्षा, बेरोजगारलाई रोजगारी, स्वास्थ्य केन्द्र तथा सर्पदंश उपचार केन्द्र स्थापना, व्यापार–व्यवसाय प्रवर्द्धन र सुरक्षाको प्रत्याभूति जस्ता कार्यक्रम अघि सारे।
अन्त्यमा उनले मतदातालाई आग्रह गर्दै भने, “सही उम्मेदवारको पहिचान गरी श्रम संस्कृति पार्टीको माटोको थुप्रो चिन्हमा मतदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।”




