सुजाता राई
विराटनगर। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गरिने विभिन्न चार साहित्यिक पुरस्कारहरू खोटाङ सामाजिक सेवा मञ्च हलमा शनिबार एक समारोहबिच समर्पण गरेको छ।
प्रा डा टङ्कप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाली साहित्यको विविध विधा र क्षेत्रमा महत्वपूर्ण योगदान गरेका चार जना साहित्यकारहरूलाई पुरस्कार समर्पण गरिएको हो ।

नेपाल सरकारका सेवा निवृत्त प्रशासक एवं साहित्यकार सीताराम पोखरेल र उनका परिवारबाट स्थापित यस वर्षको नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कारबाट नेपाली साहित्य, समालोचना, अनुवाद तथा प्राज्ञिक क्षेत्रमा अत्यन्त प्रभावशाली र बहुआयामिक योगदान पुर्याएका प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ भने मनमाया दाहाल र उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार नेपाली कविता, समालोचना, बालसाहित्य र अनुसन्धानको क्षेत्रमा निरन्तर क्रियाशील रही साहित्यको श्रीवृद्धि तथा प्रवर्द्धनमा योगदान पुर्याएकी साहित्यकार डा. कौशिला रिसाललाई अर्पण गरिएको छ । त्यसैगरी उक्त कार्यक्रममा साहित्यकार तारानाथ पोखरेलले आफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नुभएको छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन तथा संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याएउदै आउनुभएको साहित्यकार मधु पोखरेललाई प्रदान गरिएको छ । यसैगरी, दिवंगत माधव पोखरेलका सन्तानहरूद्वारा स्थापित माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार नेपाली मुक्तक साहित्यका समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई समर्पण गरिएको छ ।

भट्टराईको कृतित्वमाथि विन्दु दाहालले समीक्षा प्रस्तुत गरे भने परिचय शम्भु प्रसाद भट्टराईले दिए। डा.रिसालबारे नानुमाया दाहालले मूल्याङ्कन राखिन् र लक्ष्मी रायमाझीले चिनारी गराइन्। पोख्रेलका सृजनामाथि गोपाल निर्भिकले विचार व्यक्त गरे, परिचयपत्र मञ्जु दाहाल घिमिरेले प्रस्तुत गरिन्। अधिकारीको योगदानमाथि इलामे जेठोले विश्लेषण गरे र लक्ष्मी पोखरेलले परिचय दिइन्।
कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी तथा साहित्यकारहरू दिनेश श्रेष्ठ, हरि कट्टेल, डा. देवी पन्थी, केशु विरही, नवराज पोखरेललगायतको उबाक्लो पस्थिति थियो।

नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशको आयोजनामा भएको यस कार्यक्रमका प्रमुख अतिथि प्रा डा टङ्कप्रसाद न्यौपानेले नेपाली साहित्यको उन्नयन र विकासमा यस्ता कार्यक्रमले दरिलो खम्बाको रूपमा काम गर्ने विचार व्यक्त गरे भने कार्यक्रमका अध्यक्ष बाबुराम पोखरेलले नेपाली मुक्तकको अनुसन्धानात्मक विकासका लागि अन्य साहित्यक विधाहरूसँगसँगै समान तहमा मुक्तकको अध्ययन चिन्तन मनन र गहन छलफल हुनुपर्दछ भन्ने तर्क प्रस्तुत गरे ।
सम्मानित व्यक्तिहरूले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा आयोजक संस्थाका कोषाध्यक्ष राधा भट्टराईको स्वागत मन्तव्य र चिरञ्जवी काफ्लेले कविता गायन गरी अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मदन भण्डारीको रहेको थियो ।




