
जनकपुरधाम- मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका कार्यालयले ३२ औं वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
अदुअआ वर्दिवास कार्यालय प्रमुख गोपाल कुमार अधिकारीले आज प्रदेश प्रमुख समक्ष गत आर्थिक वर्ष २०७८/०७९ को ३२ औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
अदुअआ वर्दिवास कार्यालय प्रमुख अधिकारीले पेश गरेका प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले सार्वजनिक समेत गरेका छन् ।
सार्वजनिक गरिएको अख्तियार कार्यालय बर्दिवासको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८/०७९ सबै भन्दा बढी मधेस प्रदेशमा २४.२५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख गरिएको छ।
प्रतिवेदन अनुसार वर्दिवास कार्यालयमा गत आवमा जम्मा ९ सय १५ वटा उजुरी दर्ता भएको छ जसमध्ये अख्तियारको कार्यालय क्षेत्रमध्ये सबैभन्दा बढी उजुरी धनुषा जिल्लाबाट परेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष धनुषा जिल्लाबाट सबैभन्दा बढी ३ सय ३९ उजुरी परेका थिए ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट फर्स्योट गर्न बाँकी १ हजार १ सय ९६ र ०७८/०७९ मा परेका ९ सय १५ मुद्दाबाट १ हजार १ सय ९६ मुद्दा गत आर्थिक वर्षमा फर्स्योट भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको फर्स्योट गर्न बाँकी ९ सय १५ वटा मुद्दा र यस अर्थिक वर्षमा परेका ३ सय १५ वटा मुद्दामा पनि अनुसन्धानको प्रक्रिया अघि बढिसकेको कार्यालयले जनाएको छ ।
मधेस प्रदेशका ४ जिल्ला सहित ९ वटा जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा चालु आर्थिक वर्षको साउन र भदौ गरि २ महिनामा ३ सय १५ उजुरी परेको कार्यालय प्रमुख अधिकारीले जनाए।
मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिराहा, प्रदेश १ को खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र वाग्मती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाबाट २ महिना मै ३ सय १५ उजुरी कार्यालयमा दर्ता भइसकेको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।









