काठमाडौं : पूजा महतो नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी नयाँ कप्तान बनेकी छन् । फेब्रुअरी १३ देखि २२ सम्म थाइल्यान्डमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) राइजिङ स्टार्स वुमन्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पूजालाई कप्तानको जिम्मेवारी दिएको हो ।
नियमित कप्तान इन्दु बर्मा गत सोमबार स्कटल्यान्डसँगको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टीट्वेन्टी विश्वकप ग्लोबल छनोट खेलमा घाइते भएकी थिइन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा इन्दुले चोटका कारण बिचमै मैदान छाडेकी थिइन् ।
सातौं ओभरको चौथो बलमा व्यक्तिगत पाँच रन बनाइरहेका बेला घाइते भएपछि उनी रिटायर्ड हट भएर मैदान छाडेकी थिइन् । चोटका कारण इन्दुले आठदेखि १२ सातासम्म खेल्न नसक्ने क्यानले जनाएको छ । क्यानका प्रवक्ता छुमबी लामाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इन्दु आठदेखि १२ सातासम्म मैदान बाहिर रहने जानकारी दिएका थिए ।
इन्दु घाइते भएपछि क्यानले शनिबार पूजाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । पूजाले सन् २०२३ को अगस्टमा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । उनले गत वर्षबाट उपकप्तानको भूमिका निर्वाह गर्दै आएकी थिइन् । पूजाकै अर्धशतकको सहयोगमा नेपालले ग्लोबल छनोटमा टेस्ट राष्ट्र जिम्बावेलाई पराजित गरेको थियो । ग्लोबल छनोटमा नेपालले निकालेको यो एक मात्र जित हो ।
नेपालले एसीसी राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ‘ए’सँग फेब्रुअरी १३, संयुक्त अरब इमिरेट्स (यूएई) सँग फेब्रुअरी १५ र भारत ‘ए’ सँग फेब्रुअरी १७ मा खेल्नेछ ।
नेपाली टोलीमा पूजा महतो, विन्दु रावल, सम्झना खड्का, रुबि पोदार, रुबिना क्षत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सिमाना केसी छन् ।




