महोत्तरी – आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महोत्तरी जिल्लामा भर्ना गरिएका ३,९९२ जना निर्वाचन प्रहरीलाई आजदेखि औपचारिक तालिम सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार तालिम कार्यक्रम जिल्लाका पाँच फरक स्थानमा सञ्चालन भइरहेको छ।
तालिमका क्रममा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मीलाई मतदान केन्द्र सुरक्षा व्यवस्था, भीड व्यवस्थापन, आकस्मिक परिस्थितिको नियन्त्रण, निर्वाचन आचारसंहिता, व्यवहारिक अभ्यास तथा अन्य आवश्यक सीपसम्बन्धी प्रशिक्षण दिइँदैछ। शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न तालिमलाई उच्च प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




तालिम उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले सुरक्षाकर्मीहरू अनुशासित, जिम्मेवार र समर्पित हुनुपर्नेमा जोड दिए। उनले १० दिनको तालिमपछि सुरक्षाकर्मीहरूलाई जिल्लाभरका मतदान स्थल तथा केन्द्रहरूमा परिचालन गरिने जानकारी दिए।
त्यस्तै, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महोत्तरी चुरे क्षेत्र तथा अन्तर्राष्ट्रिय सीमासँग जोडिएको जिल्लाअन्तर्गत पर्ने भएकाले केही मतदान स्थलमा आवतजावत कठिन रहेको बताए। कतिपय स्थानमा भौतिक पूर्वाधार कमजोर भएकाले ती क्षेत्रमा विशेष संवेदनशीलता निर्धारण गरिएको स्पष्ट गर्दै उनले सबै सुरक्षा निकायलाई मतदाताले स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा मतदान गर्न सक्ने स्थिति बनाउन सक्रिय हुन निर्देशन दिए।

निर्वाचन नजिकिँदै जाँदा जिल्लामा सुरक्षा तयारीलाई अझ प्रभावकारी बनाउने बताइएको छ।
जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार यस पटक जिल्लाभर २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र तोकिएका छन्। ती केन्द्रहरूमा ४,३१,२८१ जना मतदाता मतदान गर्नेछन्। ठूलो मतदाता संख्यालाई व्यवस्थित रूपमा मतदान गराउन निर्वाचन कार्यालय र सुरक्षा निकायले समन्वयात्मक तयारी तीव्र बनाएका छन्।
अतिसंवेदनशील तथा संवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती तथा निगरानी बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।





