धनुषा – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र बालअधिकार संरक्षणको सवाल विषयक कार्यक्रम जनकपुरधाममा बिहीबार सम्पन्न भएको छ ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजनामा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सवलसहित बालबालिकाका क्षेत्रमा कार्यरत १६ संस्थाको साझ सञ्जाल ‘बालअधिकारका लागि नागरिक समाज संस्था’को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य व्यक्त गर्दै इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले राजनीतिक दलहरूले बालअधिकारलाई पहिलो प्राथमिकतामा राखी आफ्ना घोषणा पत्रमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पूर्णरूपमा पालना गर्नुपर्ने बताउनुभयो ।जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचनको प्रचारप्रसार तथा आमसभामा बालबालिकालाई प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद् मधेस प्रदेशका फोकल पर्सन संजिव महतोले आसन्न निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले बालबालिकालाई प्रयोग नगर्नुपर्ने बताउनुभयो । उहाँले प्रचारप्रसार वा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग गरी आचारसंहिता वा कानुन उल्लङ्घन गर्ने दल तथा उम्मेदवारलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।जिल्ला बाल सञ्जाल सप्तरीका शिवशंकर मण्डलले राजनीतिक दलहरू बालबालिकाको संरक्षणप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता र घोषणा पत्रसम्बन्धी ध्यानाकर्षण पत्रसमेत बुझाइएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै जनता समाजवादी पार्टी नेपालका विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय महासचिव बलिराम कापरीले आफ्नो दलले निर्वाचनमा बालबालिका प्रयोग नगरेको बताउनुभयो । तर कतिपय अवस्थामा अभिभावक स्वयं बालबालिका लिएर आउने र केही बालबालिका आफैं सहभागी हुने गरेको देखिएको उहाँको भनाइ थियो । उहाँले आगामी दिनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस धनुषाका जिल्ला सचिव देवेन्द्रकुमार भरखेर यादवले घरदैलो कार्यक्रम वा कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्नु नहुने बताउनुभयो । कार्यक्रममा उठेका विषय पार्टीभित्र छलफल गरी निर्वाचन तथा राजनीतिक गतिविधिमा बालबालिका प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालय, युनिसेफ, सेभ द चिल्ड्रेन र प्लान नेपाललगायत दातृ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै कायापलट, राष्ट्रिय अपाङ्ग महासंघ, सिजप, प्रदेश बाल सञ्जाल र आसमान नेपाललगायत संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।





