अर्जुन साह,जनकपुरधाम - लोकतन्त्रको सुदृढीकरण, महिला अधिकारको प्रवर्द्धन तथा युवाको अर्थपूर्ण सहभागितालाई केन्द्रमा राखी मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदेशस्तरीय युवा मञ्च सम्पन्न भएको छ ।ओरेक नेपालसहित विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा माघ २४ गते सम्पन्न उक्त एकदिने मञ्चमा मधेस प्रदेशका सबै जिल्लाबाट करिब एक सय जना युवाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा महिला सचेतना केन्द्रकी अध्यक्ष साधना वर्माले सहभागीहरूको स्वागत गर्नुभयो । कार्यक्रममा ओरेक नेपालकी मधेस प्रदेश संयोजक बिना सिंहले वर्तमान सामाजिक–राजनीतिक सन्दर्भमा युवा महिलाले भोग्नुपरेका समस्या, युवाको अर्थपूर्ण सहभागिता तथा सशक्तीकरणको आवश्यकता औँल्याउँदै कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभयो ।

मञ्चका क्रममा अनौपचारिक समूह छलफलसमेत सञ्चालन गरिएको थियो । उक्त छलफलको सहजीकरण ओरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनालीले गर्नुभएको थियो । छलफलमा दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा अल्पसंख्यक समुदायका युवासहित विभिन्न क्षेत्रका युवा अभियन्ताहरूले सहभागिता जनाउँदै आ–आफ्ना धारणा राख्नुभएको थियो ।
छलफलमा नागरिकता सम्बन्धी समस्या, युवाको राजनीतिक प्रतिनिधित्व, समान सहभागिता, लोकतान्त्रिक अभ्यास तथा समावेशीकरणका विषयमा गम्भीर विमर्श भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापनमा छलफलबाट निस्किएका निष्कर्षलाई समेट्दै १३ बुँदे घोषणापत्र जारी गरिएको छ ।







