जनकपुरधाम- प्रदेश २ नाम र राजधानी बारे दलहरूबीच मतदानका लागि प्रदेश सभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेश सभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ ।
बैठकमा विभिन्न दलका प्रदेश सभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरूबीच सहमति भएको छ।
नाम र राजधानीमा सहमति जुटाउन प्रदेश सभाले सभामुख सरोजकुमार रायको संयोजकत्वमा गठन गरेको विशेष समितिले सहमति जुटाउन असफल भएको छ ।
सहमति जुट्न नसकेपछि दर्ता भएका सबै प्रस्तावहरु प्रदेश सभामा भोंटिगका लागि प्रस्तुत हुने सचिवालयका सचिव रञ्जित कुमार यादवले बताए ।
नाममा सहमती जुट्न नसके पनि जनकपुरधाम राजधानीको लागि दलहरु बीच लगभग सहमती हुने अवस्था देखिएपनि अहिले आएर जनकपुरधामलाई राजधानी हुन नदिने षडयन्त्र सुरु भएको छ।
यस अघि पनि नाम र राजधानीको लागि भएको मतदानमा दुबै फेल गराइएको थियो जब कि त्यतिबेला पनि राजधानीको विषयमा दलहरु बीच सहमती देखिएको थियो ।
प्रदेश सभाको यसै अधिवेशनबाट नाम र राजधानी टुंगो लगाउने तयारी र छलफल चलिरहे कै बेला केहि दिन देखि विरगंजका सांसद र मन्त्री समेतको संलग्नतामा जनकपुरधामलाई राजधानी बन्न नदिने वीरगञ्जलाई राजधानी र मधेश प्रदेशको नयाँ खाका तयार भएको छ ।
वीरगञ्जलाई राजधानी बनाउन विहीबार रौतहटको चन्द्रपुर (चन्द्रनिगाहपुर) स्थित गौतम होटेलमा एक भेला नै आयोजना गरिएको थियो । जसमा यदि विरगंजलाई राजधानी बनाउने हो भने सभासदहरुले मधेश प्रदेशमा समर्थन जनाउने आन्तरिक तयारी गरिएको खुलेको छ।
प्रदेश सरकारको सत्ता गठबन्धमा समेत रहेका नेपाली कांग्रेसबाट खानेपानी तथा उर्जा विकास मन्त्री विरगंज निवासी ओमप्रकाश शर्माको विषेश पहलमा आयोजना गरिएको चन्द्रपुरको भेलामा सहभागी सभासदहरुले पूर्वका सभासदहरुले ‘मधेश प्रदेश’मा सहमत नभएकाले राजधानी वीरगञ्ज र मधेश प्रदेश पारित गर्नेमा सहमति जुटेको सहभागी मध्येको एकजना सभासदले जनाए ।
मन्त्री शर्माले खुलेरै भने, ‘वीरगञ्जलाई राजधानी स्वीकारे ‘मधेश प्रदेश’ मा समर्थन रहनेछ , तर वीरगञ्ज राजधानी स्वीकार नगरिए ‘मध्य-मधेश प्रदेश’ मा समर्थन हुनेछ ।
मन्त्री शर्माले प्रदेशको नामकरण र स्थायी राजधानीमा मतदानका लागि पार्टीको ह्वीप नलाग्ने भएकाले कांग्रेसको आधिकारिक प्रस्ताव विपरीत मतदान गरिने बताए ।
प्रदेशको नाम ‘मिथिला-भोजपुरा’ र राजधानी जनकपुरधाम नेपाली कांग्रेसले प्रदेश सभामा आधिकारिक रुपमा दर्ता गराएको छ । तर सो पार्टीका सभासद राजेश्वर साहले वीरगञ्ज राजधानी र ‘मध्य-मधेश प्रदेश’ को प्रस्ताव दर्ता गराएका छन् । साहलाई मन्त्री शर्माको हरेक किसिमको साथ सहयोग र समर्थन प्राप्त रहेको बताइएको छ ।
‘मधेश प्रदेश’लाई सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) र प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अडान लिएका छन् । त्यसमा नेकपा माओवादी केन्द्रलेपनि पूणर् समर्थन जनाएको छ ।
तर नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादव मधेश प्रदेशको नाममा सुरु देखि नै विरोध जनाउँदै आएका छन् ।
कांग्रेस सभासदहरुको सक्रियतामा भएको चन्द्रपुर भेलामा सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका ३० जना सभासद सहभागी भएका थिए । भेलामा सबै दलका सभासदहरुको सहभागिता रहेको दावी गरिएको छ ।
प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले वीरगञ्जलाई स्थायी राजधानी बनाउन भन्दा पनि राजनीतिक स्वार्थपूर्तिका लागि प्रस्ताव गरिएको बताए । उनले भने, ‘प्रदेश सभामा दर्ता भएको प्रस्ताव बाहेक अन्य प्रस्तावलाई समावेश गर्न सकिदैन्।’
वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव जसपाको होइन् । भेलामा सहभागी राज्यमन्त्री यादवले वीरगञ्जलाई राजधानीको प्रस्ताव राखेर प्रदेशको नामकरण र राजधानीको निणर्य लिन अवरोध गर्न लागिएको बताए ।
‘मधेश प्रदेश र जनकपुरधामलाई राजधानी बनाउन सर्वसहमतिबाट निणर्य गरौ’ उनले भने, यस पटक नाम र राजधानी प्रदेशले पाउन नसके प्रदेश सभाका सदस्यहरु असफल मानिनेछन् ।
नाम र राजधानीको निणर्य हुन्छ ः मुख्यमन्त्री राउत
प्रदेशको नामकरण र राजधानीको निणर्य प्रदेश सभाबाट हुने मुख्यमन्त्री लालबाबु राउतले ठोकुवा गरेका छन् ।
‘प्रदेशको नाम र राजधानीको विषयमा सहमति नजिक पुगेका छौ’ उनले भने, प्रदेश सभाबाट मधेश प्रदेश र जनकपुर धाम राजधानीको प्रस्ताव पारित हुनेछ ।
आ-आफ्ना भूगोलका लागि प्रस्ताव र छलफल गर्न भएको भेला हुनु अस्वभाविक नभएको जनाउँदै राउतले भने, असन्तुष्टि व्यक्त गर्नु लाई अन्यथा लिनु हुँदैन् ।
दलहरुले इमान्दारीपूर्वक प्रयास गरे प्रदेशको नाम र राजधानी दुबैको निणर्य हुन सक्ने नेकपा (एकीकृत समाजवादी)पार्टी संसदीय दलका नेता समेत रहेका उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले दलहरु लचिलो भए निणर्य संभव रहेको बताए ।
४ जिल्लाको भेलाले वीरगञ्ज राजधानीका लागि सहमति जुटाउन समिति समेत गठन गरिएको छ। भेलामा वीरगञ्ज र जनकपुरधाममा सहमति नजुटेकाले सर्लाहीको नवलपुर-चन्द्रपुर(रौतहट)बीचको भूभागमा राजधानी राख्नु पर्ने प्रस्ताव पनि आएको थियो ।
प्रदेशको नाम र राजधानी सबैको अपनत्व महसुस हुनेगरी राख्नुपर्ने कांग्रेसका सभासद राजेश्वर प्रसाद साहले बताए ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने सवालमा वीरगन्ज क्षेत्रका केही सांसदहरू बाहेक सबै एकै ठाउँमा भएका बताए। साथै उनले प्रदेशको नाम र राजधानी ३ माघमा टुंगो लाग्ने जनाए।
मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने बताए।
‘प्रदेशको नामकरण र राजधानी सम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ, मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसदबाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ।’
प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे।