धनुषा । नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख तथा मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष स्वर्गीय प्रदीप कुमार यादवप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं मधेश प्रदेश सरकारका मुख्यमन्त्री माननीय कृष्ण प्रसाद यादव, कांग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, उपसभापति चन्द्रशेखर यादव, महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ, सहमहामन्त्री जय नारायण प्रसाद यादव लगायतका नेताहरू स्वर्गीय यादवको निजी निवास पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।



श्रद्धाञ्जली कार्यक्रममा नेताहरूले स्वर्गीय प्रदीप कुमार यादवको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई सम्मान प्रकट गर्नुभएको थियो। उहाँको योगदानको स्मरण गर्दै नेताहरूले स्वर्गीय यादव नेपाली कांग्रेस र स्थानीय तहको विकासमा इमानदार, समर्पित र जनप्रिय नेतृत्वका रूपमा स्थापित रहेको बताउनुभयो।
स्वर्गीय प्रदीप कुमार यादवको निधनले नेपाली कांग्रेस, मधेश प्रदेश तथा स्थानीय तहले एक सक्षम, कर्मठ र दूरदर्शी नेतृत्व गुमाएको भन्दै नेताहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
यसैबीच, नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय यादवप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौन धारणसहित शोक प्रस्ताव पारित गरेको छ। बैठकको निर्णयअनुसार मधेश प्रदेशका आठै जिल्लाका पार्टी कार्यालयहरू आज एक दिन बन्द राखिने, माघ २७ र २८ गते दुई दिन आधा झण्डा झुकाइने, शोक पुस्तिका राखिने तथा १३औँ दिन पुण्यतिथिका अवसरमा मधेश प्रदेश पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने निर्णय गरिएको छ।




