महोत्तरी – मधेस प्रदेश केन्द्रित चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नजाने भएका छन्। पार्टीले तय गरेको कार्यक्रमअनुसार बालेन सर्लाही आए पनि सो निर्वाचन क्षेत्रमा पुग्ने तालिका नरहेको जनाइएको छ।
मंगलबार सिरहा हुँदै महोत्तरीको बर्दिबाससम्म पुगेका बालेनले धनुषाको लालगढस्थित गौतम होटेलमा रात्रि विश्राम गरेका थिए। रास्वपा महोत्तरी जिल्ला सभापति शुभमकुमार यादवका अनुसार बालेन बुधबार बिहानदेखि महोत्तरीका विभिन्न स्थान हुँदै सर्लाही प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ। उनका अनुसार बिहान महोत्तरीको रौजा मजार, प्रडौलस्थान, बल्बा र सरपल्लो हुँदै रामगोपालपुर–सम्सी, खखना भएर सर्लाही जाने कार्यतालिका रहेको छ।



यसअघि बालेनले सप्तरी, सिरहा, धनुषा र महोत्तरीका विभिन्न स्थानमा पुगेर रास्वपाको पक्षमा मत मागेका थिए। उनी पुगेका स्थानमा कार्यकर्ता तथा समर्थकले अबिर र पुष्पगुच्छाले स्वागत गरेका छन्। तर, बालेनले हालसम्म कुनै सार्वजनिक सभामा सम्बोधन नगरेको र स्थानीय बासिन्दासँग संक्षिप्त भेटघाटमा सीमित रहेको बताइएको छ।
रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले बालेन बुधबार सर्लाही आए पनि निर्वाचन क्षेत्र नम्बर ४ मा पुग्ने कार्यक्रम नरहेको स्पष्ट पारे। “बालेन आज सर्लाही क्षेत्र नम्बर १ र ३ मा मात्र पुग्नुहुन्छ। बरहथवाबाट दक्षिणतर्फ जाने कार्यक्रम छैन,” उनले भने। उनका अनुसार दोस्रो चरणमा पार्टी सभापति रवि लामिछानेसहित बालेनलाई सर्लाहीका सबै निर्वाचन क्षेत्रमा ल्याएर आमसभा गर्ने विषयमा छलफल भइरहेको छ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाले पूर्वकांग्रेस नेता डा. अमरेश सिंहलाई उम्मेदवार बनाएको छ।
सो क्षेत्रमा कांग्रेस सभापति गगन थापा उम्मेदवार रहेकाले चुनावी प्रतिस्पर्धा चर्को हुने अनुमान गरिएको छ। यसैबीच, उम्मेदवार सिंहले सार्वजनिक गरेको कार्यक्रम पार्टीको आधिकारिक समन्वयबिनै तय भएको हुन सक्ने रास्वपाका नेताहरूले बताएका छन्।
बालेनको सचिवालयले सार्वजनिक गरेको बुधबारको कार्यक्रम तालिकामा पनि सर्लाही क्षेत्र नम्बर २ र ४ समावेश गरिएको छैन। सचिवालयका अनुसार बालेन आज लालबन्दी, हरिवन र बरहथवामा मात्र पुग्नेछन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका बालेनले आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रम स्थगित गरी मधेसका जिल्लामा चुनावी अभियान केन्द्रित गरेका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बालेनबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।




