महोत्तरी – मटिहानी नगरपालिकाको आयोजनामा आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मङ्गलबारदेखि प्रारम्भ भएको छ । प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी तथा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रूपमा गर्नुभयो ।

मटिहानी रंगशालामा आयोजित उद्घाटन समारोहमा नगर प्रमुख मण्डलले खेलकुद र शिक्षाको समन्वित विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गराउनुका साथै राष्ट्रका लागि सक्षम जनशक्ति उत्पादनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।




सो अवसरमा शिक्षा तथा संस्कृति मन्त्री तिवारीले खेलकुद व्यक्तित्व विकासको महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गर्दै यसले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका पाँच माध्यमिक विद्यालय सहभागी छन् ।प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्पलगायत २३ विधाका खेल सञ्चालन हुने शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्रले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा वडा नं. २, ४, ५, ६ र ७ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, शाखा प्रमुखहरू, वडा सचिव, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।










