महोत्तरी – नेकपा (एमाले)का दुई जना नेताले पार्टीका जिम्मेवारी तथा साधारण सदस्यता समेत त्याग गर्दै राजीनामा दिएका छन्।
औरही नगरपालिका–८, टिम्कियाका सत्यनारायण यादवले २०५४ सालदेखि पार्टीमा आवद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। उहाँ नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवका रूपमा क्रियाशील रहँदै आउनुभएको थियो।



साथै, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, मधेश प्रदेश कमिटीका अध्यक्षको जिम्मेवारीसमेत वहन गर्दै आउनुभएको यादवले आजदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ।

यसैगरी,लोहरपट्टी नगरपालिकाका नेकपा (एमाले) नगर अध्यक्ष पार्टिका पुर्व निर्वाचित वडाध्यक्ष र युवा संघ को केन्द्रीय सदस्य जितेन्द्र चौधरीले मिति २०८२ माघ २९ गते बिहीबारदेखि लागू हुने गरी नगर संयोजक तथा जनवर्गीय संगठनका सम्पूर्ण पदबाट तथा साधारण सदस्यतासमेत त्याग गर्दै राजीनामा दिनुभएको छ।

राजीनामा दिएका दुवै नेताले पार्टीमा रहँदा सहयोग गर्ने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गर्नुभएको छ।




