जनकपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रत्येक नेपाली नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण सहितको राष्ट्र निर्माण नै अबको प्रमुख भिजन रहेको बताउनुभएको छ।

बुधबार जनकपुरधामको तिरुहितिया गाछीमा आयोजित कांग्रेसको पहिलो चुनावी सभा तथा प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र विरुद्धका गतिविधि र अराजकता सह्य नहुने स्पष्ट पार्नुभयो। राज्यको गोलीबाट कुनै पनि युवकको ज्यान जानु नहुने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विगतका दुःखद घटनाको पुनरावृत्ति हुन नदिने अठोट व्यक्त गर्नुभयो। साथै, मुलुकको सर्वोच्च प्रशासनिक केन्द्रमाथि आक्रमणजस्ता गतिविधि स्वीकार्य नहुने उहाँको भनाइ थियो।




सभापति थापाले भदौ २३ र २४ गते सडकमा उत्रिनुभएका युवाहरूको भावनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुभयो। युवापुस्तालाई ‘हाम्रै सन्तान’ बताउँदै उहाँले उहाँहरूको असन्तुष्टि अस्वीकार नभई कार्यशैली परिवर्तनको सन्देश भएको धारणा राख्नुभयो। “हामीले शैली बदल्नुपर्छ भन्ने उहाँहरूको आग्रह हो,” उहाँले भन्नुभयो।

उहाँका अनुसार अबको लक्ष्य हरेक नेपालीले सपना देख्न र आफ्नै जीवनकालमा त्यसलाई साकार पार्न सक्ने अवस्था सिर्जना गर्नु हो। किसानलाई आत्मनिर्भर बनाउने, स्वदेशी उत्पादनलाई विश्व बजारमा चिनाउने, छोराछोरीलाई पढाउँदा ऋणको भार बोक्न नपर्ने, उपचार गर्दा डराउन नपर्ने र आधारभूत आवश्यकतामा सहज पहुँच सुनिश्चित गर्ने देश निर्माण कांग्रेसको संकल्प रहेको उहाँले बताउनुभयो।

मौलिक संस्कृतिमा गर्व गर्दै आधुनिकतासँगै अघि बढ्ने, विश्व समुदायले स्वाभिमानी राष्ट्रका रूपमा चिन्ने नेपाल निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। “प्रत्येक नागरिक हैरानी र अन्यायबाट मुक्त हुने नेपाल बनाउने हाम्रो प्रतिज्ञा हो,” उहाँले जोड दिनुभयो।

कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै मुलुकलाई सम्हाल्न सक्ने नेतृत्वको आवश्यकता औँल्याउनुभयो। “यो बेला कसले जित्छ भन्नेभन्दा पनि देशलाई कसले सही दिशामा अगाडि बढाउन सक्छ भन्ने प्रश्न महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।

कांग्रेसले जित र हार दुवै भोगिसकेको स्मरण गराउँदै उहाँले अहिलेको मुख्य चुनौती लोकतान्त्रिक पद्धति र सामाजिक सद्भाव जोगाउनु भएको बताउनुभयो।

उपसभापति शर्माले मधेशलाई देशको अन्नभण्डारका रूपमा उल्लेख गर्दै मधेशका किसानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। “हामी सबै नेपालीको पेट भर्ने भूमि मधेश हो। यहाँका किसान र उहाँहरूको पसिनाप्रति हामी सदैव आभारी छौँ,” उहाँले बताउनुभयो।










