महोत्तरी – फागुन ७ गते आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । निरङ्कुश राणा शासनको अन्त्य गर्दै २००७ सालको जनक्रान्तिबाट प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो ।
प्रजातन्त्र स्थापनाका लागि शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेका थिए । तिनै शहीदहरूको बलिदान र जनआन्दोलनको उपलब्धिको सम्मानस्वरूप यो दिवस मनाइने गरिएको हो ।२००७ सालको जनक्रान्तिपछि प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले आफ्ना मौलिक हक तथा अधिकारको अभ्यास गर्दै आएका छन् । हाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत प्रजातान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ ।



दिवसको मूल समारोह आज काठमाडौँस्थित सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारीहरू सदस्य छन् । गृह मन्त्रालयका सचिव सदस्य–सचिवको भूमिकामा रहनेछन् ।
यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य शीर्ष नेताहरूले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशवासीलाई शुभकामना सन्देश दिएका छन् ।




