महेशकुमार दास
जलेश्वर। मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमाको धार्मिक लस्कर शुक्रबार विहान जलेश्वर आइपुग्दा स्थानीयहरूले भव्य स्वागत गरेका छन्।
शुक्रबार रात्रि विश्रामका लागि जलेश्वर आएका साधु सन्त, महन्थ र गृहस्थसहितका परिक्रमावासीलाई परशुराम साह नेतृत्वको मिथिला परिक्रमा धर्मसंस्थाको अगुवाईमा वैण्डबाजा र सहनाई बाजासहित स्वागत गरिएको हो। स्थानीय युवाहरूले जलेश्वरको भार्गवसर कुट्टी अगाडि पुगेर फूलमाला र बाजागाजासहित स्वागत गरे।



धर्मसंस्थाको नेतृत्वमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मटिहानी–जलेश्वर सडकअन्तर्गत पर्ने भार्गवसर कुट्टीमा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रशासनिक निकायका प्रमुख, स्थानीय युवा, महिला तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएर परिक्रमावासीलाई स्वागत गरेका थिए।
परिक्रमावासीको सहजताका लागि आवास, भोजन र आकस्मिक उपचारको व्यवस्थासमेत संस्थागत र निजी रूपमा गरिएको छ। मेला भर तीन सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।
जलेश्वरमा मेलामा घुम्न आएका साधु सन्त र नाङ्गाबाबाहरूको क्रियाकलाप हेर्न ठूलो भिड देखिएको छ। मेलामा सहभागी जनताहरू जलेश्वर वरिपरिका गाउँ तथा भारतको विहार राज्यका सितामढी, सुरसण्ड, मधवापुर लगायतका ठाउँबाट पनि आएका थिए।
मटिहानीबाट जलेश्वर आउने क्रममा जलेश्वर नगरपालिका–४ सुगा गाउँमा पनि स्थानीय र संघसंस्थाले परिक्रमावासीलाई स्वागत गरेका थिए।
धर्मयात्रा धनुषाको कचुरीमठबाट मिथिला विहारी र अग्निकुण्डबाट किशोरी जीको डोलासहित जानकी मन्दिर हुँदै प्रारम्भ भई हनुमानगढी, कल्याणेश्वर, फुलहर हुँदै मटिहानी पुगेर रात्रि वास पछि जलेश्वर आइपुगेको हो। जलेश्वरको विश्रामपछि शनिबार परिक्रमाको लस्कर महोत्तरीको मडै पुग्नेछ। त्यसपछि ध्रुवकुण्ड, कन्चनवन, धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्केर अन्तगृह परिक्रमा सम्पन्न हुनेछ।
१८औँ शताब्दीदेखि सञ्चालन भइरहेको माध्यमिक परिक्रमामा नेपालका १०७ किलोमिटर र भारतका २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा तय गर्ने परम्परा रहेको छ। भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामका साधुहरू समेत विशेष रूपमा सहभागी छन्।
फागुनशुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगेर होली खेलेर फागुनपूर्णिमाको दिन समाप्त हुने परम्परा छ। सहभागीहरूका अनुसार यसमा भाग लिनुबाट मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट हुने र मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ। परिक्रमामा नेपाल–भारतका साधु, सन्त, महन्थसहित लाखौं धर्मावलम्बी सहभागी रहेका छन्।-गोरखापत्र




