सुजाता राई
विराटनगर–११ मा ज्येष्ठ नागरिक वडा कार्य समिति (योग ध्यान केन्द्र) द्वारा ६६औँ प्रजातन्त्र दिवस तथा सम्मान कार्यक्रम सोही भवनमा बिहीवार सम्पन्न भएको छ।



कार्यक्रममा कमलबहादुर बुढाठोकी र खगेन्द्र निरौलालाई सम्मान गरिएको हो। सभापति अर्जुनकुमार भट्टराईले दोसल्ला, माला तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कार्यक्रममा दुई जना नयाँ आजीवन सदस्यका रूपमा चुनुमाया कार्की र सीता भट्टराई थपिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेले प्रजातन्त्रको सार व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले २००७ सालमा प्रजातन्त्र स्थापना भए पनि त्यसको मर्मलाई पूर्णरूपमा आत्मसात गर्न नसकिएको उल्लेख गर्दै परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने बताए। छिमेकी, समाज तथा फरक विचार र दलप्रतिको सम्मान बिना सच्चा प्रजातन्त्र अनुभूति गर्न नसकिने धारणा राखे। साथै अतिथिलाई खादा–माला नलगाउने नयाँ अभ्यास थालनी गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा प्रे. सल्लाहकार चिरञ्जीवी दाहाल, कमल ढुङ्गाना, पदमकुमार श्रेष्ठ, मेजर मन राई, उपाध्यक्ष यादनर सिंह निरौला, भरत कार्की, कार्यसमिति सदस्य विष्णु भट्टराई, निलाम आचार्य, टंकमणि भट्टराई तथा सञ्चारकर्मी तेजेन्द्र भण्डारी,माधव अधिकारी एघारका वडा सचिव सरस्वती ढाकल,सदस्य बलराम कारंजीत, ,मोहन कृष्ण ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य ज्येष्ठ सदस्य विष्णु भट्टराईले व्यक्त गरे भने कार्यक्रम सञ्चालनको जिम्मेवारी सचिव इन्द्र प्रसाद खतिवडाले सम्हालेका थिए।





