जनकपुरधाम- उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय व्यवस्था नेपालमा असफल भएको बताएका छन् । उनले अब जनताबाट सिधै निर्वाचित राष्ट्रपति र खर्चिलो निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताए ।
मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले देशको विकास र लोकतन्त्रको अभ्यासका लागि राज्यले अपनाएका नीति नै गलत भएको दाबी गरे । उनले पीडित जनतालाई समानताको अधारमा राज्य संचालनमा सहभागी गराइएको भए देश समृद्धिको पथमा अगाडि बढ्ने बताए ।
समृद्धिका लागि देशमा सुशासन आवश्यक भएको भन्दै मन्त्री यादवले देशमा मूल्य, मन्यता र आदर्शको राजनीति सकिएर व्यक्तिगत स्वार्थमा राजनीति केन्द्रित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

उनले संसदीय व्यवस्था नेपालमा असफल भएकोले अब जनताबाट सिधै निर्वाचित राष्ट्रपति र खर्चिलो निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने धारणा व्यक्त गरे। जसपा नेपाल फुट्नु संघीयता विरुद्धको षड्यन्त्र भएको भन्दै उनले संघीयतालाई कमजोर पार्नका लागि विगतमा पनि जसपामाथि प्रहार भएको भन्दै चिन्ता नगर्न सबैलाई आग्रह गरे ।
जेठमा हुने महाधिवेशनमा फेस गर्ने साहस नभएका र तोडफोर गरी पार्टीमा आएकाले नै पार्टी फुटाएको उहाँको आरोप छ।लोकतन्त्रको रक्षा, समावेशिता र नागरिक स्वतन्त्रताका लागि आफ्नो लडाइँ जारी रहने उनको भनाइ छ।
यादवले देशमा विपद्को घडीमा स्वास्थ्यकर्मीले नागरिकको जीवन रक्षाका लागि गरेका योगदान अतुलनीय रहेको बताए ।।
मन्त्री यादवले स्वास्थकर्मीको समस्याप्रति सरकार गम्भीर प्रष्ट पारेे। कतिपय समस्या अघिल्लो पटक स्वास्थ्यमन्त्री हुँदा समाधान गरेको दाबीसमेत गरे ।
उनले विभिन्न समस्या हुँदाहुँदै पनि सेवाको भावनाले कसैले काम गरेको भए त्यो स्वास्थ्यकर्मी मात्रै रहेको बताए ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका कार्यबाहक अध्यक्ष सचिदा नन्द जैसवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय सरकारका वन तथा वातावरण राज्यमन्त्री दिपक कार्की, मधेश प्रदेशका अर्थ मन्त्री संजय यादवले शुभकामना दिए। दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब पाँच सय प्रतिनिधि सहभागी छन्। महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।




