मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमा अन्तर्गत सोमवार श्रद्धालुहरू महोत्तरीको कंचनवन पुगेर रंग–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् ।

कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तहरुले प्रत्येक वर्ष होली खेल्ने गर्छन्। सोही परम्परा अनुसार यसवर्ष पनि परिक्रमा विश्रामको क्रममा होली खेलेका हुन्। मिथिला विहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रंग अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् ।मिथिलामा कञ्चन वनमा होली खेलेसँग होलीको सुरुवात भएको छ।
ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा सोमवार महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन पुगेर होली मनाएका छन्। कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गरिएको थियो । नगरप्रमुख संजिव साहले परिक्रमामा सहभागी भएकाहरुलाई स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको र पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था सहित होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।




स्थानीय मठमन्दिरका महन्थ, विभिन्न सामाजिक तथा सांस्कृतिक अभियन्ताका साथै राजनीतिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिताले कञ्चनवनको होलीलाई विशेष बनाउने गरेको छ । धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा यहाँको होली वर्षेनि झन् व्यवस्थित हुँदै गएको देखिन्छ ।
यस वर्ष यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले समेत सहभागीता जनाउनु भएको थियो ।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रङ अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्रा्राम गर्ने गर्दछन् ।
फागुन ४ गतेदेखि सुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रवकुण्ड पुगेका थिए ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र मिथिलाबिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत रुपमा १५ दिने यात्रा तय गरिरहेका छन् ।

कञ्चनवन पश्चात पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा जाने गरेका छन् ।

यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।





