सञ्जीतकुमार मण्डल,महोत्तरी- राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद अमरेश कुमार सिंहले मधेशवादी दलले बनाएको अग्रगामी मोर्चाले आउँदो छठपछि गर्न खोजेको आन्दोलनले मधेशमा फेरी भ्रम सृजना गर्न खोजेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आईतबार पत्रकारहरुसँग कुराकानी गर्दै साँसद सिंहले मोर्चाका नेता एवं जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई छठपछि आन्दोलनका लागि तयार रहन गरेको अपिललाई पुनः मधेशमा ठूलो दुर्घटना गराउन खोज्ने षडयन्त्र गरिरहेको बताउनुभएको छ ।



मधेशवादी दलहरु आफू सत्तामा रहँदा मधेशलाई नसम्झिने र सत्ता बाहिर गएपछि मधेशलाई सम्झिने र सधैं आफ्नो स्वार्थ पूराका लागि जनतासँग आन्दोलन र संघर्षका कार्यक्रम गराउने खेल गर्दै आएको साँसद सिंहले आरोप लगाउनुभयो ।
उहाँले मधेशको शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा समग्र मानव विकासमा मधेशवादी दल र तीनका नेताहरुले चाँसो नराखेको र उनीहरुकै कारण मधेशको विकास नभएर विनास भएको तर्क दिनुभयो । उहाँले मधेशवादी दलका नेताहरुले पोखरी सौन्दर्यकरण, मठ, मन्दिर निर्माण लगायतमा कराडौ खर्च गर्ने तर विद्यालय, स्वास्थ्य संस्था वा रोजगारी सृजनाको नाउँमा कहिँ कतै खर्च नगर्ने प्रवृतिले उनीहरु मधेशको विकासको बाधक रहेको बताउनुभयो ।
उहाँले आफू स्वयं पनि छठ पर्वको भोलिपल्ट माता जानकीको जन्मभूमि जनकपुरधामबाट उदाउँदो सूर्यको पूजा गर्र्दै, माता जानकीको दर्शन गरेर मेची महाकाली यात्रा शुरु गर्ने र सो यात्राको क्रममा आफू मधेशको हुलाकी सडक भएर मधेशको प्रत्येक जिल्लामा गएर मधेशी जनताको कुरा सुन्ने, दुःख पीडा बुझ्ने र ती कुराहरु सरकार समक्ष सँसदमा राख्ने बताउनुभयो ।
उहाँले मधेशवादी दलद्वारा मधेशमा मधेशीलाई पुनः भ्रमित गर्न भइरहेको खेलमा मधेशी जनतालाई नफँस्न आग्रह गर्दै आफूले शुरु गर्न गइरहेको मेची महाकाली पदयात्रामा सहभागी हुन आग्रह गर्नुभयो ।




