धनुषा – आसन्न निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यसहित मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघ (RTI Nepal) द्वारा आयोजित एकदिने निर्वाचन शिक्षा तालिम धनुषाको ढल्केबर स्थित कोमल होटल मा सम्पन्न भएको हो।

तालिममा सहभागीहरूलाई सही मतदान प्रक्रिया, मतपत्रमा चिन्ह लगाउने तरिका, गोप्य मतदानको महत्व, मत बदर हुने कारणहरू तथा ती त्रुटि न्यूनीकरण गर्ने उपायबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्द ले जानकारी दिनुभयो। उहाँका अनुसार एकभन्दा बढी स्थानमा छाप लगाउने, निर्धारित चिन्हभन्दा बाहिर छाप पर्ने वा मतपत्र सही रूपमा नबुझ्ने जस्ता सामान्य त्रुटिका कारण बदर मतको संख्या बढ्ने भएकाले मतदाता शिक्षा अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा प्रा. चिरञ्जिवी खनाल तथा किरण पौडेल ले प्रशिक्षण दिनुभएको थियो। उनीहरूले निर्वाचन प्रणाली, मतदाताको अधिकार तथा कर्तव्य, लोकतान्त्रिक प्रक्रियामा नागरिकको भूमिकालगायत विषयमा अन्तरक्रियात्मक ढंगले प्रशिक्षण दिएका थिए। साथै, गलत सूचना (मिसइन्फर्मेशन), मत खरिद–बिक्री तथा निर्वाचन आचारसंहितासम्बन्धी विषयमा पनि सहभागीहरूलाई सचेत गराइएको थियो।

महासंघका मधेस प्रदेश अध्यक्ष अजय कुमार साह का अनुसार मधेस प्रदेशका महोत्तरी, सिरहा र रौतहट जिल्लाबाट २५ जना सहजकर्ता छनोट गरी तालिम प्रदान गरिएको हो। ती सहजकर्ताहरूलाई आ–आफ्नो जिल्लामा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो।

महासंघका महोत्तरी जिल्ला अध्यक्ष धर्वेन्द्र कुमार यादव ले तालिमले स्थानीय तहसम्म मतदाता शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “मत बदर हुने समस्या न्यूनीकरण गर्न समुदायस्तरमै सचेतना अभिवृद्धि आवश्यक छ। यस तालिमबाट सहभागीहरू व्यवहारिक रूपमा सक्षम भएका छन् र उनीहरूले आफ्ना बस्तीमा गएर मतदानको सही विधि र सावधानीबारे नागरिकलाई जानकारी गराउनेछन्।”

तालिमपछि सहभागीहरूले मतदाताको अधिकार तथा कर्तव्य स्पष्ट रूपमा बुझ्ने, मतदान प्रक्रियाबारे अन्य नागरिकलाई जानकारी दिन सक्ने, समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन सक्ने तथा गलत सूचना र अनैतिक गतिविधिविरुद्ध जनचेतना फैलाउन सक्षम हुने अपेक्षा गरिएको छ।

तालिममा सहभागी महोत्तरीको औरही नगरपालिकाकी बबिता कुमारी यादवले मतदान गर्ने सही तरिकाबारे स्पष्ट ज्ञान प्राप्त भएको बताउनुभयो। त्यस्तै, लोहरपट्टी नगरपालिकाकी सलिता यादवले तालिमबाट प्राप्त ज्ञान आफ्नो समुदायमा साझा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महासंघले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउँदै स्वच्छ, निष्पक्ष तथा प्रभावकारी निर्वाचन सुनिश्चित गर्न यस्ता मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।














