जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाल छुट्याएर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन्।
बुधबार जानकी मन्दिर दर्शनपछि समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई सम्पूर्ण मुलुकको विकासको कुरा गर्ने बताए। उनले सिङ्गो देश र मधेसलाई विभाजन गरेर राजनीति गर्ने युग अन्त्य गर्ने संकेत गरे।




सभापतिले जनताको मतको सम्मान गर्दै इमानदारीपूर्वक देशको पक्षमा काम गर्ने धारणा व्यक्त गरे। दशकौंदेखि विभेद र अन्यायमा परेको मधेसलाई प्राथमिकतामा राख्दै धार्मिक पर्यटन प्रवर्द्धनमा पनि ध्यान दिने उल्लेख गरे।
लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको कुरा भए पनि विभेदको विषयमा चुप लागिएको भन्दै, यसपटक विभेद अन्त्य गर्दै सुशासन स्थापना गर्ने लक्ष्यसहित गम्भीर भएर अघि बढ्ने बताए।




