सुजाता राई
विराटनगर । मोरङ-४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार जीवन घिमिरेको पहिलो चरणको घरदैलो अभियान उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
विशेष घरदैलो कार्यक्रममा महिलाहरूले बाजा बजाउँदै अगाडि हिँडेर अभियानलाई थप आकर्षक र उत्साहजनक बनाएका थिए।
फागुन १३ गते बिहान ८ बजे त्रिवेणी मार्गस्थित मोरङ–१ जेष्ठ नागरिक हक–हित संरक्षण मञ्चमा पत्रकार सम्मेलनसमेत आयोजना गरिएको थियो।



अभियानका क्रममा मोरङ–४ अन्तर्गत २३ वटै वडाका करिब ३ हजारभन्दा बढी घरधुरीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको जनाइएको छ। घरदैलोका दौरान मतदाताका समस्या, गुनासा र सुझाव संकलन गरिएको घिमिरेले बताए।
अभियान प्रभावकारी बनाउन वडा परिचालन समिति, क्षेत्रीय परिचालन समिति, प्रचारप्रसार, सामाजिक सञ्जाल, युवा, महिला तथा पेशागत क्लस्टरमार्फत करिब ३ हजार सक्रिय कार्यकर्ता परिचालन गरिएको दाबी गरिएको छ। विभिन्न वडा स्तरका सभा तथा घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको र मतदाताबाट न्यानो स्वागत प्राप्त भएको उल्लेख जनाएको हो।
पहिलो चरण सम्पन्न भएसँगै अब दोस्रो चरणअन्तर्गत टोलस्तरीय भेला, अन्तरक्रिया तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी दिदै अभियान सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्ण वडा कमिटी, परिचालन समिति र मतदाताप्रति घिमिरेले धन्यवाद व्यक्त गरेका छन् ।





