अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सुरु गरेको आक्रमणले मध्यपूर्व पूर्ण रूपमा तनावग्रस्त बनेको छ ।
आफूमाथि भएको आक्रमणपछि इरानले इजरायलको राजधानीलगायतका सहरहरू र अमेरिकी सेनाका बेसक्याम्पहरू रहेका मध्यपूर्वका राष्ट्रहरूमा पनि जवाफी हमला गरेको छ ।



साथै, विश्वभरबाट जारी युद्धका बारेमा विभिन्न प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन् ।
अमेरिका-इजरायली आक्रमणपछि इरानको विद्यालयमा मारिनेको संख्या ५१ पुग्यो
दक्षिणी इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब शहरको एक प्राथमिक बालिका विद्यालयमा आक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । इरानको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी Islamic Republic News Agency (IRNA) का अनुसार सुरुमा ५ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको थियो । त्यसपछि उक्त संख्या २४ र ४० हुँदै अहिले मृतक संख्या बढेर ५१ पुगेको जनाएको छ ।
इरानका नेताहरू ‘पूर्ण रूपमा सुरक्षित’ रहेको दाबी
फारसी न्युज एजेन्सीले इरानका नेताहरू राष्ट्रपति मसौद पेजेश्किन, सभामुख मोहम्मद बघेर गालिबाफ र सुरक्षा प्रमुख अलि लारीजानी पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।
समाचारमा उल्लेख छ, “इजरायली स्रोतहरूले राष्ट्रपति र वरिष्ठ नेताहरूलाई लक्षित गरी सफल आक्रमण गरेको दाबी गरे पनि, देशभित्रका आधिकारिक स्रोतहरूले सशस्त्र बलका प्रमुखहरूसहित वरिष्ठ अधिकारीहरू पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको बताएका छन् ।”
इरानले कसरी प्रतिक्रिया दियो?
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि छिट्टै उत्तरी इजरायलमा विस्फोटका आवाजहरू सुनिएका थिए । जहाँ इजरायलले इरानी क्षेप्यास्त्रहरू खसाल्ने प्रयास गरेको अन्तर्राष्ट्रय समाचार संस्था अलजजिराले जनाएको छ ।
इरानी प्रहारको सामना गर्न इजरायली सेनाले हवाई प्रतिरक्षा प्रणाली परिचालन गरेको घोषणा गरेलगत्तै विस्फोटहरू सुनिएका थिए ।
हालसम्म जारी आक्रमणबाट मानवीय क्षति वा भौतिक क्षतिको विवरण आइसकेको छैन ।
अमेरिकी सैन्य बल तैनाथ रहेका कतार, कुवेत, यूएई र बहरेनलगायतका खाडी अरब देशहरूमा पनि विस्फोट भएको खबर आएका छन् ।
इरानको फार्स न्युज एजेन्सीले तेहरानले ती प्रत्येक देशमा रहेका सैन्य संरचनामाथि आक्रमण गरेको जनाएको छ । लक्ष्यमध्ये कतारको अल उदेइद एयर बेस र बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालय पनि रहेको बताइएको छ ।
कतारको राजधानीमा समय–समयमा विस्फोटका आवाजहरू सुनिरहेका छन्, जहाँ हवाई प्रतिरक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरू अवरोध गरिरहेको जनाइएको छ ।
कतार र अन्य खाडी राष्ट्रतर्फ धेरै क्षेप्यास्त्र प्रहार गरिएपछि यो पछिल्लो श्रृंखलाका विस्फोटहरू भएका हुन् ।
राजधानीको बाहिरी आवासीय क्षेत्रमा अवरोध गरिएका क्षेप्यास्त्रका टुक्रा खस्दा धुवाँ उडिरहेको देखिएको थियो ।
अमेरिकाले ‘व्यापक’ हवाई र समुद्री आक्रमण जारी राख्ने
एक अमेरिकी अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था अलजजजिरालाई बताएअनुसार, अमेरिका इरानमाथि हवाई र समुद्री मार्गबाट “व्यापक” आक्रमण जारी राख्ने भएको छ ।
इरानको सुरक्षा संयन्त्रलाई कमजोर पार्ने उद्देश्यले गरिएको ती अमेरिकी–इजरायली आक्रमणहरू हाल इरानभित्र मात्रै सीमित रहेको उनले बताएका छन् ।
आक्रमणमा अमेरिकी वायुसेना पनि सहभागी रहेको र इजरायली सेनासँग समन्वय भइरहेको अलजजिराले उल्लेख गरेको छ ।
आक्रमणबारे ट्रम्पले के भने?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल संयुक्त रूपमा इरानमाथि गरिएको आक्रमण “इरानी शासनबाट आउने आसन्न खतरालाई समाप्त गर्ने” उद्देश्यले गरिएको बताएका छन् ।
“हाम्रो उद्देश्य इरानी शासनबाट आउने खतरा हटाएर अमेरिकी जनताको रक्षा गर्नु हो,” ट्रम्पले आक्रमण सुरु भएयता निरन्तर आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा भनेका छन्, “उनीहरूको क्षेप्यास्त्र नष्ट गर्ने र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्ने हाम्रो उद्देश्य हो ।”
ट्रम्पले इरानी नौसेनालाई समाप्त गर्ने, त्यहाँका ‘आतंकवादी’ समूहहरूले अब सोही क्षेत्र वा विश्वलाई अस्थिर पार्न नसक्ने सुनिश्चित गर्ने बताएका छन् । उनले अमेरिकालाई कसैले पनि चुनौती दिन नहुने सन्देश दिएको भन्दै इरानले परमाणु हतियार कहिल्यै प्राप्त नगरोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।
“उनीहरूसँग कहिल्यै परमाणु हतियार हुने छैन । यस शासनले चाँडै नै बुझ्नेछ कि संयुक्त राज्य अमेरिकाको सशस्त्र सेनाको शक्ति र सामर्थ्यलाई कसैले चुनौती दिनु हुँदैन,” उनले भनेका छन् ।
नेतन्याहूले के भने?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले अमेरिका–इजरायल संयुक्त आक्रमणले इरानबाट आउने “अस्तित्वको खतरा” लाई नै हटाउने उद्देश्य राखेको बताएका छन् ।
अमेरिकासँग मिलेर आक्रमण गरेका नेत्यान्याहुले भनेका इरानी जनताका लागि अत्याचार हटाएर स्वतन्त्र र शान्तिप्रेमी इरान निर्माण गर्ने समय आएको बताएका छन् ।
“हाम्रो संयुक्त अभियानले साहसी इरानी जनतालाई आफ्नो भविष्य आफ्नै हातमा लिन सक्ने अवस्था सिर्जना गर्नेछ,” उनले भनेका छन् ।
रूसद्वारा अमेरिका–इजरायल आक्रमण तुरुन्त रोक्न आग्रह
रूसले अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको आक्रमण तुरुन्त रोक्न आह्वान गरेको छ । साथै, युद्धको स्थितिलाई “राजनीतिक तथा कूटनीतिक समाधानको बाटोमा फर्काइनु पर्ने” बताएको छ ।
रूसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायले उक्त क्षेत्रलाई थप अस्थिर बनाउने गैरजिम्मेवार कदमहरूको वस्तुनिष्ठ मूल्याङ्कन छिटो गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।
साथै, अन्तर्राष्ट्रिय कानुन, पारस्परिक सम्मान र हितको सन्तुलनका आधारमा शान्तिपूर्ण समाधान खोज्न सहयोग गर्न आफू सधैँ तयार रहेको पनि रूसले जनाएको छ ।
रूसका विदेशमन्त्री सर्जियो लाभ्रोभले आफ्ना इरानी समकक्षी अब्बास आर्चीसँग टेलिफोन वार्ता समेत गरेका छन् । उक्त वार्तामा रूसको विदेश मन्त्रालयले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको निन्दा गरेको र तुरुन्तै आक्रमण रोक्न आग्रह गरिएको बताइएको छ ।
इजरायल र अमेरिकाको आक्रमणबारे अन्य देशहरूको प्रतिक्रिया
स्पेन: स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले अमेरिका र इजरायलद्वारा गरिएको “एकपक्षीय” सैन्य कारबाही अस्वीकार्य रहेको बताएका छन् । उनका अनुसार यसले तनाव बढाएको र अन्तर्राष्ट्रिय व्यवस्थालाई अझ अनिश्चित तथा शत्रुतापूर्ण बनाएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल एक्समा प्रकाशित वक्तव्यमा सान्चेजले इरानी सरकार र रिभोल्युशनरी गार्डका गतिविधिहरू पनि स्वीकार गर्न नसकिने बताएका छन् ।
“हामी तत्काल तनाव न्यूनीकरण र अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मानको माग गर्छौं,” उनले भनेका छन् ।
बेल्जियम: बेल्जियमका परराष्ट्रमन्त्री म्याक्सीम प्रेभोटले इरानी जनताले आफ्ना शासकले गरेका निर्णयहरूको मूल्य चुकाउन नहुने बताएका छन् । “इरानी जनताले आफ्ना सरकारका निर्णयहरूको मूल्य चुकाउन नपरोस्,” उनले कूटनीतिक प्रयासले समयमै वार्तामार्फत समाधान दिन नसकेकोमा गहिरो दुःख व्यक्त गर्दै भनेका छन् ।
नर्वे: नर्वेजियन परराष्ट्रमन्त्री एस्पेन बार्थ ऐडीले आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको बताएका छन् । “इजरायलले यसलाई पूर्व–निरोधात्मक आक्रमण भने पनि, यो अन्तर्राष्ट्रिय कानुनअनुसार छैन,” उनले भनेका छन् ।
पाकिस्तान: पाकिस्तानी परराष्ट्रमन्त्री इश्क दरले इरानमाथि भएको “अनावश्यक आक्रमण”को कडा निन्दा गर्दै तत्काल तनाव घटाउन कूटनीति पुनः सुरु गर्न आग्रह गरेका छन् ।
इराकी समूहले अमेरिकी अड्डामाथि चाँडै आक्रमण गर्ने धम्की
इराकको अर्धसैनिक समूह हिज्बुल्लाहले आफूहरूमाथि लक्षित आक्रमणको जवाफस्वरूप अमेरिकी सैन्य अड्डामाथि छिट्टै आक्रमण सुरु गर्ने जनाएको छ ।
यो समूह सन् २०१४ मा (आईएसआईएस) को तीव्र विस्तार रोक्न स्थापना गरिएको पपुलर मोबिलाइजेसन फोर्सेसको ठूलो घटकमध्ये एक हो ।
दक्षिणी इराकको जुर्फ अल–साखेर (जुर्फ अल–नस्र) अड्डामाथि गरिएको हवाई आक्रमणमा दुई लडाकु मारिएका थिए ।
बहराइनको जुफैर क्षेत्रमा बसोबास गर्नेहरूलाई सारिँदै
बहराइनको गृहमन्त्रालयले अमेरिकी नौसैनिक अड्डा रहेको जुफैर क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सार्न सुरु गरेको जनाएको छ ।
यसअघि उक्त क्षेत्रमा धुवाँ उडिरहेको देखिएको अन्तर्राष्ट्रि सञ्चार माध्यमहरूले जनाएका थिए । त्यहाँको गृहमन्त्रालयले सम्बन्धित निकायहरूसँग सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
अमेरिका र इजरायलले इरानमाथि किन आक्रमण गरे?
अमेरिका र इजरायलद्वारा तेहरानको परमाणु कार्यक्रम र क्षेत्रीय प्रभावलाई रोक्न इरानमाथि आक्रमण गरेको बताएका छन् ।
यी दुई सहयोगी राष्ट्रले लामो समयदेखि इरानको बढ्दो युरेनियम संवर्धन गतिविधि र क्षेप्यास्त्र क्षमताले आफ्नो अस्तित्वमै खतरा पैदा गरेको दाबी गर्दै आएका छन् । साथै, यसलाई रोक्न बल प्रयोग गर्ने चेतावनी पटक–पटक दिएका छन् ।
यसअघि गत वर्ष जुन महिनामा इजरायल र अमेरिकाले इरानका परमाणु तथा सैन्य स्थलहरूमा आक्रमण गरेका थिए, जसमा वरिष्ठ कमान्डरहरूको हत्या भएको थियो भने इरानभित्रका विभिन्न संरचनामाथि प्रहार गरेका थिए ।
तर इरानका राष्ट्रपति मसौद पेजेश्कियानलगायतले बारम्बार इरानले कहिल्यै परमाणु हतियार विकास नगर्ने बताउँदै आएका छन् ।
अमेरिकी गुप्तचर निकायहरू र संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकायले इरान सक्रिय रूपमा आणविक हतियार बनाउने प्रयास गरिरहेको प्रमाण फेला नपारे पनि, इजरायल र डोनाल्ड ट्रम्पलगायत उनका सहयोगी केही व्यक्तिहरूले यस्तो दाबी गर्दै आएका छन् ।




