अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको उल्लेख गरेका हुन्।
ट्रम्पले यस घटनालाई इरानी जनता र विश्वकै लागि ‘न्याय’ भएको टिप्पणी गरेका छन्। यसअघि एबीसी न्युजसँगको कुराकानीमा उनले इरानको माथिल्लो नेतृत्व तहका धेरै व्यक्तिहरू हटिसकेको बताएका थिए।
तेहरानस्थित खामेनीको निवासमा इजरायल र अमेरिकाले भीषण बमबारी गरेका छन्। स्याटेलाइट तस्बिरहरूले उक्त निवास पूर्ण रूपमा तहसनहस भएको देखाएका छन्।



रोयटर्स, फक्स न्युज र इजरायली सञ्चारमाध्यमहरूले इजरायली वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै खामेनी मारिएको समाचार सम्प्रेषण गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि खामेनी ‘अब नरहेको’ बलिया संकेतहरू प्राप्त भइरहेको बताएका छन्।
इरानको कडा प्रतिवाद
अमेरिकी र इजरायली दाबीको इरानले पूर्ण रूपमा खण्डन गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्ना सर्वोच्च नेता ‘पूर्ण सुरक्षित र स्वस्थ’ रहेको बताएका छन्। सरकारी मिडियासँग कुराकानी गर्दै विदेशमन्त्री अराघचीले भनेका छन्, ‘जहाँसम्म मलाई जानकारी छ, खामेनी जिउँदो छन् ।’
खामेनीको कार्यालयले यसलाई शत्रु राष्ट्रहरूको “मानसिक युद्ध” को संज्ञा दिएको छ। इरानी अधिकारीहरूका अनुसार आफ्ना नेतालाई सुरक्षित स्थानमा राखिएको र मृत्युको खबर केवल भ्रम फैलाउनका लागि ल्याइएको बताइएको छ।
को हुन् आयतोल्लाह अली खामेनी
आयतोल्लाह अली खामेनी १९ अप्रिल १९३९ मा पूर्वी इरानको मशहदमा जन्मिएका हुन् । उनी १९७९ को क्रान्तिमा प्रमुख भूमिका खेल्ने इस्लामवादी कार्यकर्तामध्ये एक थिए।
सन् १९८९ मा इस्लामिक क्रान्तिका प्रणेता आयतोल्लाह रुहोल्लाह खोमेनीको निधनपछि खामेनीले इरानको कमान्ड सम्हालेका थिए। खोमेनी वैचारिक शक्तिका रूपमा चिनिए पनि खामेनीले नै इरानको सैन्य र अर्धसैन्य संयन्त्रलाई बलियो बनाए ।
सन् १९८० को दशकमा इराकविरुद्धको रक्तपातपूर्ण युद्धका बेला खामेनी इरानका राष्ट्रपति थिए। पश्चिमी देशहरूले सद्दाम हुसेनलाई गरेको समर्थन र इरानको एक्लोपनले खामेनीको मनमा पश्चिमा देशहरू, विशेष गरी अमेरिकाप्रति गहिरो अविश्वास पैदा गर्यो। विशेषज्ञ वली नासरका अनुसार, खामेनीले इरानलाई सधैं असुरक्षित महसुस गरे र राष्ट्रवाद, धर्म र क्रान्तिलाई एकै ठाउँमा गाँसेर देशको सुरक्षा रणनीति बुने।
उनको यही सोचका कारण इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) एक शक्तिशाली आर्थिक र राजनीतिक संस्थाको रूपमा उदय भयो। उनले पश्चिमा प्रतिबन्धका विरुद्ध “प्रतिरोधको अर्थतन्त्र” को अवधारणा अघि सारे।
खामेनीको शासनकालमा धेरै पटक ठूला विरोध प्रदर्शनहरू भए ।
खामेनीले इरान बाहिर आफ्ना समर्थक समूहहरूको एउटा नेटवर्क बनाए, जसलाई “अक्सिस अफ रेसिस्टेन्स” भनिन्छ। यसमा लेबनानको हिजबुल्लाह, हमास, येमेनका हुथी र सिरियाको असद सरकार सामेल थिए। तर, सन् २०२४/२५ मा इजरायली आक्रमण र सिरियामा असद शासनको पतनले यो नेटवर्कलाई ठूलो धक्का पुर्यायो।
इजरायलसँगको युद्ध र अमेरिकी हस्तक्षेप
जुन २०२५ मा इजरायलले इरानका आणविक केन्द्रहरू र सैन्य कमान्डरहरूमाथि भीषण आक्रमण गर्यो। इरानले पनि इजरायलमाथि मिसाइल वर्षा गरेपछि दुई हप्तासम्म पूर्ण रूपमा युद्ध चल्यो। अमेरिकाले इरानका मुख्य आणविक केन्द्रहरूमा ‘बन्कर बस्टर’ बम प्रहार गर्यो।
यति हुँदाहुँदै पनि खामेनीले आत्मसमर्पण गर्न अस्वीकार गरे। उनले भने, ‘इरानी राष्ट्र कहिल्यै झुक्ने छैन।’
फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा ‘ठूलो सैन्य कारबाही’ सुरु भएको घोषणा गरे। उनले इरानमा सत्ता परिवर्तनको स्पष्ट संकेत दिँदै इरानी जनतालाई आफ्नो सरकार कब्जा गर्न आह्वान गरेका छन्।
वर्षौंदेखिको प्रतिबन्ध, आन्तरिक विद्रोह र अहिलेको बाह्य सैन्य आक्रमणले गर्दा खामेनीको नेतृत्व र इरानको भविष्य इतिहासकै सबैभन्दा कठिन मोडमा आइपुगेको छ । -एजेन्सी






