धनुषा । होली पर्वको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् जनकपुरधामद्वारा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘महामुर्ख सम्मेलन’ अन्तर्गत यस वर्ष मधेस प्रदेशसभाका सभामुख माननीय राम अशिष यादवलाई ‘महामुर्ख–२०८२’ को सम्मान प्रदान गरिएको छ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सरसफाइ अभियानी रहनुभएका माननीय यादवलाई मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदरस्वरूप उक्त सम्मान अर्पण गरिएको हो।
समारोहमा आकर्षक व्यङ्ग्यात्मक माला, टोपी, होरीमा प्रयोग हुने डम्फा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी उहाँलाई सम्मान गरिएको थियो। सो अवसरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रदान गरिँदै आएको अन्य १५ वटा सम्मानसमेत वितरण गरिएको थियो।

शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका राकेश कर्णलाई ‘वैशाखानन्दन’, समाजसेवी विभा झालाई ‘तिलविखन्नी’, अधिवक्ता विपनकुमार झालाई ‘लबरसटका’, पत्रकार तथा साहित्यकार हिमांशु चौधरीलाई ‘जीहजुरिया’, कवि दिगम्बर झा दीनमणिलाई ‘पोगांपण्डित’, निजी विद्यालयका सञ्चालक विश्वलाल सिंहलाई ‘पटमुर्ख’, जनकपुरधाम उपमहानगरपालिकाकी कर्मचारी अञ्जु पाण्डेलाई ‘मनतोरिया’, चिकित्सक डा. विजय राउतलाई ‘विषखोपडा’, व्यवसायी प्रदीप चौधरीलाई ‘तरघुस्का’, खेलाडी पवन कर्णलाई ‘ब्रजकिट’, व्यवसायी पवन ठाकुर तथा तबलावादक विपिन पाठकलाई ‘डपोरशंख’, मिथिला चित्रकलाकी कलाकार राजकुमारी मण्डललाई ‘तरघुस्सकी’, राजनीतिकर्मी लव अधिकारीलाई ‘लोराशंकर’ र पत्रकार दीपक कर्णलाई ‘लम्बोदर’ सम्मानबाट सम्मानित गरिएको थियो।

स्थानीय जानकी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा होलीसँग सम्बन्धित विविध गीत, कविता वाचन तथा समसामयिक सामाजिक विकृतिमाथि व्यङ्ग्य प्रस्तुत गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर तथा कटहरबाट बनाइएका मालाले सजाएर सम्मान गरिएको थियो। यसै अवसरमा मिथिलामा लोपोन्मुख बन्दै गएको डम्फा गायनको संरक्षणका लागि परिषद्ले डम्फा गायन प्रतियोगितासमेत आयोजना गरेको थियो।




