धनुषा-१ रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी खारेज गरिएको हो।



आयोगमा रहेको उम्मेदवारको वैयक्तिक विवरणमा किशोरीले कमल निर्माण सेवाको सेयर होल्डर भएर काम गरेको खुलाएका छन् ।
त्यस्तै किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालो सूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ ।
धनुषा निर्वाचन क्षेत्र १ का निर्वाचन अधिकृत मनोज बरालले रास्वपा उम्मेदवार साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको बताए । उनले आफूसँग पनि उम्मेदवारी खारेजीको आधिकारिक पत्र नआएको भने बताए ।
रास्वपा उम्मेदवार साहको कमल कन्स्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणसहित उनको उम्मेदवारी खारेजका लागि निर्वाचन क्षेत्र नं. १ को कार्यालयमा उजुरी परेको थियो । कार्यालयले सो उजुरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको बरालले बताए ।
यसअघि ०७९ को चुनावमा किशोरी साह जनमत पार्टीबाट धनुषा-१ मै उम्मेदवार बनेका थिए । उनी १४ हजार ४ सय ६७ मतसहित तेस्रो स्थानमा थिए ।





