सर्लाही –निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको सर्लाहीमा मृत्यु भएको छ। रौतहटको माधवनारायण नगरपालिका–६ घर भएका ४२ वर्षीय रघुनाथ महतोको ड्युटीकै क्रममा बेहोस भएपछि उपचारका क्रममा ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महतो सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत सिनियर अहेव हुन्। उनी पर्सा गाउँपालिका–४ मा रहेको जिगडवा आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए।



मंगलबार दिउँसो करिब २ बजेतिर मतदान केन्द्रमै अचानक बेहोस भएका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा पुर्याइएको थियो। तर चिकित्सकले करिब २:३० बजे जाँच गर्दा मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वमा पर्छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।





