धनुषा । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशको वर्तमान राजनीतिक अवस्थाबाट निकास पाउनका लागि निर्वाचन नै प्रमुख र प्रभावकारी विकल्प भएको बताउनुभएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान गर्न धनुषाको निर्वाचन क्षेत्र नं. ४ स्थित आफ्नो पैतृक गाउँ सपही पुग्नुभएका डा. यादवले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले सपहीस्थित वी.पी. माध्यमिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको थियो।
डा. यादवले गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको आन्दोलनपछि देशमा देखिएको राजनीतिक परिस्थितिलाई समाधान गर्ने प्रभावकारी माध्यमका रूपमा अहिलेको मध्यावधि निर्वाचन रहेको उल्लेख गर्नुभयो।
उहाँले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सक्षम, इमानदार र जनताप्रति उत्तरदायी जनप्रतिनिधि चयन गर्नु अत्यन्त आवश्यक रहेको बताउँदै मतदाताले सोचविचार गरेर आफ्नो मत प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
पूर्व राष्ट्रपति यादवले हाल भइरहेको निर्वाचनले देशमा देखिएको राजनीतिक अन्योल अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आम मतदाताको उत्साहजनक सहभागिताप्रति खुशी व्यक्त गर्नुभयो।
ज्येष्ठ नागरिकसमेत रहनुभएका उहाँले देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने अपेक्षा व्यक्त गर्नुभयो। साथै वर्तमान संविधानले प्रदान गरेका उपलब्धिको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न पनि यो निर्वाचन महत्वपूर्ण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
डा. यादवले सबै मतदातालाई जिम्मेवार ढङ्गले आफ्नो मताधिकार प्रयोग गरी योग्य र असल जनप्रतिनिधि चयन गर्न अपिल गर्नुभएको छ।




