नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारको विरुद्धमा गतिविधि गरेको आरोपमा तीन जना कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिद्वारा जारी गरिएको पत्र अनुसार निर्वाचनको समयमा पार्टीको आधिकारिक उम्मेदवारको हितविपरीत अन्य पार्टीका उम्मेदवारको प्रचार–प्रसार तथा सहयोग गरेको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।
पार्टीको विधान २०७६ अनुसार अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको पत्रमा उल्लेख गरिएको छ ।
निष्कासनमा पर्नेहरूमा यूगल किशोर यादव, रामवरण ठाकुर र दिनेश प्रसाद महतो रहेका छन् । उनीहरू क्रमशः क्षेत्रीय सदस्य, वडा तहका सदस्य तथा क्षेत्रीय प्रतिनिधिसँग सम्बन्धित जिम्मेवारीमा रहेका व्यक्तिहरू रहेको जनाइएको छ ।
पार्टीको आधिकारिक उम्मेदवारको हितविपरीत गतिविधि गरेको भन्दै अनुशासन कायम गर्न उक्त कारबाही गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ ।
यस विषयमा सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन ।





