बर्दिवास । सबै महिला र बालिकाको लागि अधिकार न्याय र कार्यसहितको अवसर भन्ने मूल नाराका साथ मार्च ८ मा
मिथिला नगरपालिकामा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइएको छ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले महिलालाई अधिकार दिनका लागि पहल घरबाटै सुरु हुनुपर्ने बताउनुभयो। उहाँले घरबाट सुरु भएको समानताको अभ्यास समाज हुँदै स्थानीय सरकार, प्रदेश र अन्ततः कानुन बनाउने तहसम्म पुग्ने बताउनुभयो।
उपमेयर बुढाथोकीले अहिले कानुनमा व्यवस्था भएका धेरै कुराहरू व्यवहारमा लागू गर्न अझै जटिल भइरहेको उल्लेख गर्नुभयो। महिला मैत्री कानुन निर्माणका लागि महिलाहरू स्वयं सशक्त हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो।उहाँले आमाको नामबाट बन्ने नागरिकताको प्रक्रियामा अझै विभिन्न जटिलताहरू रहेको विषय पनि उठाउनुभयो। बालविवाह गर्न नहुने कुरा धेरैलाई थाहा भए पनि समाजमा अझै दाइजो प्रथा र बालविवाह रोक्न नसकिएको बताउँदै मधेसका कतिपय स्थानमा सामूहिक भोजमा महिलाहरू खुला रूपमा बसेर खान नपाउने र घरभित्र लगेर खानुपर्ने जस्ता सामाजिक विभेद अझै विद्यमान रहेको बताउनुभयो।
महिलामाथि सामाजिक, धार्मिक लगायत विभिन्न बहानामा अंकुश लगाएर राख्ने प्रवृत्ति अझै समाजमा रहेको उल्लेख गर्दै उहाँले यस्ता विभेद अन्त्य गर्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मन्तव्य राख्दै महिला अधिकार मञ्चकी अध्यक्ष कल्पना कडारीले यस दिवस महिलाको हकअधिकार सुनिश्चित गर्ने महत्वपूर्ण दिन भए पनि महिलाका आवाज सुन्ने जिम्मेवार व्यक्तित्वको अभाव हुँदा दुःख लागेको बताउनुभयो।
कार्यक्रमको निर्धारित समयमा सबैजना समय मै उपस्थित हुनु पर्ने बताउनु हुँदै उहाँले अहिलेको व्यस्त समयमा कसैका लागि लामो समय कुर्न बस्ने अवस्था नभएकोले यसमा सबैले ध्यान दिनु पर्ने आवश्यक्ता औल्याउनुभयो ।
कडारीले बालबालिका तथा महिला शाखाले राष्ट्रिय अभियानका कार्यक्रमहरू सञ्चालन गर्न नसक्ने हो भने उक्त शाखाले कस्तो काम गर्छ भन्ने प्रश्न उठाउनुभयो। निर्वाचनका कारण समय नभएको, बजेट अभाव भएको जस्ता विभिन्न बहाना बनाइने गरेको उल्लेख गर्दै उहाँले महिलाका नाममा आएको बजेट कहाँ खर्च भइरहेको छ भन्ने प्रश्न गर्नुभयो।
उहाँले बालबालिका, महिला, एकल महिला, अल्पसंख्यक, जनजाति तथा पिछडिएका वर्गका लागि छुट्याइएको बजेट केमा खर्च भइरहेको छ भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो। महिलालाई कार्यक्रम गर्न बजेट नभएको भनिने तर महिलाले तिरेको कर कहाँ जान्छ भन्ने प्रश्न पनि उहाँले उठाउनुभयो।
महिला अधिकार मञ्चले भेला गर्ने र समन्वय गर्ने काम गर्दै आए पनि कार्यक्रम सञ्चालनका विषयमा आफूहरूलाई कहिल्यै सोधिने वा समन्वय गरिने नगरेको गुनासो उहाँले व्यक्त गर्नुभयो।
कडारीले यसअघि कार्यक्रमको आयोजक महिला अधिकार मञ्च हुने गरेको तर यसपटक आयोजकको नाम परिवर्तन गरी महिला तथा बालबालिका शाखा राखिएकोमा समेत गुनासो गर्नुभयो । “हामीलाई शाखाले बोलाउने काम हो, तर आज हाम्रो नाम काटिएको छ। यदि समन्वय नगरिने हो भने मिथिलामा कुनै कार्यक्रम सञ्चालन हुन सक्दैन,” उहाँले भन्नुभयो। समन्वयको अभावकै कारण मिथिलानगरपालिका पछाडि परेको पनि उहाँले जिकिर गर्नुभयो ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख सीता कुमारी काफ्ले , महिला अधिकार मञ्चकी अध्यक्ष कल्पना कडारी, भिटवानकी अध्यक्ष दीपिका लामा, महिला अधिकार मञ्चका सचिव गंगा बलम्पाकी लगायत महिला अधिकार मञ्चका सदस्यहरू तथा विभिन्न संघ–संस्थाबाट प्रतिनिधित्व गर्दै आएका महिला दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
त्यसैगरी यस अघि मिथिला नगरपालिका–१० लालगढमा नारी कल्याण सहकारी संस्थाको हलमा संस्थाकी अध्यक्ष सरस्वती खड्काको अध्यक्षता र मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकी को प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा अतिथिका रूपमा कार्यपालिका सदस्य अन्जु श्रेष्ठ, निरकुमारी विश्वकर्मा, शर्मिला सुनुवार, महिला नेत्री शोभा माझी, महिला अधिकार मञ्चका नगर समिति सदस्य अर्चना आचार्य लगायत विभिन्न संघ–संस्थाबाट प्रतिनिधित्व गर्दै उल्लेखनीय संख्यामा महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन अध्यक्ष सरस्वती खड्का र उपमेयर सुनिता सिंह बुढाथोकीले संयुक्त रूपमा ब्यानर उद्घाटन गरेर गर्नुभएको थियो। सो अवसरमा महिला अधिकार मञ्च नगरदेखि वडासम्म गठन भई सक्रिय रूपमा विभिन्न कार्य गर्दै आएको जानकारी पनि गराइएको थियो।
सो अवसरमा उपमेयर बुढाथोकीले आफ्नो मन्तव्यमा महिला अधिकारको विषय समाज, कानुन, धर्म र संस्कारजस्ता विभिन्न कारणले अझै पनि महिलामाथि विभेद हुने गरेको बताउनुभयो। यस्तो विभेदलाई चिर्दै महिलाहरूलेसमयअनुसार प्रविधिमा जोड दिनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले हरेक महिलालाई सक्षम र साक्षर बनाउन तथा कुनै पनि महिलाले हिंसा सहनु नपरोस् भन्ने उद्देश्यका साथ स्थानीय तहबाट निरन्तर काम भइरहेको जानकारी दिनुभयो। साथै उहाँले उपस्थित सम्पूर्ण दिदीबहिनीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै कार्यपालिका सदस्य अन्जु श्रेष्ठले महिलाको क्षमता अभिवृद्धिका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार ती तालिमबाट धेरै दिदीबहिनीहरू आत्मनिर्भर बन्न सफल भएका छन्। आगामी दिनमा पनि महिलाहरूको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै थप सिपमूलक तालिमहरू सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले महिलाको अधिकार, सशक्तीकरण र समान अवसर सुनिश्चित गर्न सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी महोत्तरीको बर्दिबासमा समेत नारी दिवस मनाइएको छ । कार्यक्रममा मधेश प्रदेश सभा सदस्य शारदादेवी थापाले महिला भित्र दबिएका आवाजहरु लाई बाहिर ल्याउनु पर्ने जिकिर गर्नुभयो । साथै उहाँले नगरभित्रका ५ जना सम्मको परिवार पाल्ने श्रमिक महिलाहरुलाई प्रोत्साहनको लागि श्रम सम्मान र कदर गर्नु पर्ने जस्तो काम गर्नु पर्ने सुझाव दिनुभयो।
त्यस्तै बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरपालिकामा महिलाहरुका समस्या धेरै भएकाले कसैलाई मनोपरामर्श चाहिए मनोसामाजिक कर्ताको समेत व्यवस्था गरेको जानकारी गराउनुभयो । साथै उहाँले कानुनमा सिमित अधिकारलाई व्यवहारमा कार्यान्यन गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले अधिकार सुनिश्चि रहेको तर त्यसलाई स्वयम महिलाहरुले नै खोज्नु पर्ने धारणा राख्नुभयो ।
उप प्रमुख तारादेवी महतोले महिला दिवस मनाइ रहदा कतिपय पुरुषहरु पनि महिला बाट शोषित भइरहने भएकोले आफ्नो अधिकार माग्दा अरुको अधिकारको हनन हुने कुरामा महिला सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
दिवसका अवरमा बर्दिबास नगरपालिकाका कानुनी सल्लाहाकार तथा अधिवक्ता टिकाध्वज खडका बाबुरामले महिला हिंसा,न्याय,समानता र अधिकारको विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । उहाँले नेपालको संविधानले महिलालाई संरक्षित गरेपनि कार्यान्वयन भने फितलो रहेको दुखेसो पोख्नु भयो । कार्यक्रममा अधिवक्ता खडकाले महिलाहरुबाट उठेका जिज्ञासाहरुको पनि सुझाव दिनुभयो।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी , विभिन्न राजनीतिक दलका प्रतिनिधि,बुद्धिजीवि तथा पत्रकारको उपस्थिति रहेको थियो ।




