भारतले फेरि टि–२० विश्वकप च्याम्पियन बनेको छ । यो जितसँगै भारत घरेलु मैदानमा टि–२० विश्वकप जित्ने पहिलो टिम बनेको छ । आइतबार न्युजिल्यान्ड र भारतबिच सम्पन्न खेलको उपाधि चुमेपछि लगातार दोस्रो पटक उपाधि चुम्ने टिमको इतिहास पनि भारतले बनाएको छ ।
यसअघि दुई पटक विश्वकप जित्ने टिम भए पनि लगातार जित्ने टिम थिएन । यसै गरी तीन पटक सबैभन्दा छोटो संरचनाको विश्वकप जित्ने गौरव हासिल गर्ने टिम पनि भारतै बनेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा एक लाखभन्दा बढी दर्शकको उपस्थितिबिच न्युजिल्यान्डलाई ९६ रनले हराएर टि–२० विश्वकपको दसौँ संस्करणको च्याम्पियन बनेर भारतले यी तिनै कीर्तिमानमा आफ्नो नाम लेखाएको छ ।
सन् २००७ मा टि–२० विश्वकपको पहिलो संस्करणमै विजेता बनेपछि भारतले दोस्रो पटक च्याम्पियन बन्न १७ वर्ष तथा नौ संस्करण कुर्नु परेको थियो । सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराएर दोस्रो पटक टि–२० विश्वकप विजेता बनेको भारतले तेस्रो पटक उपाधि जित्न भने समय लगाएन । भारत टि–२० विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्यो । न्युजिल्यान्डको भने पहिलो पटक च्याम्पियन बन्ने सपना पूरा भएन । सन् २०२१ मा पनि न्युजिल्यान्ड फाइनल अस्ट्रेलियासँग निराश बनेको थियो ।
भारतलाई फाइनलमा टस हार्नु वरदानै सावित भयो । न्युजिल्यान्डका कप्तान मिचेल सान्तनरबाट ब्याटिङको निमन्त्रणा पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २५५ रनको विशाल स्कोर बनायो । भारतको ब्याटिङ सकिँदा टिम खुसी थिएन । भारत अझ ठुलो स्कोरतर्फ अग्रसर थियो । पहिलो पावर प्ले सकिँदा भारत बिनाविकेटको क्षतिमा ९२ रनको स्थितिमा थियो । यस विश्वकपमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो । १५ ओभर सकिँदा एक विकेटको क्षतिमा २०३ रन बनाएको भारतको फिनिसिङ अपेक्षा अनुरूप हुन सकेको थिएन ।
जिमी निसमले १६ औँ ओभरमा तीन विकेट लिएपछि भारतको रन बनाउने गति केही सुस्त भएको हो । सो ओभरमा निसमले प्रारम्भिक ब्याट्सम्यान सञ्जु सामसन, इशान किसन र कप्तान सूर्यकुमार यादव (०) लाई पभेलियन फर्काउनुभयो । सामसन र किसनले आउट हुनुअघि क्रमशः ८९ र ५४ रनको आकर्षक पालि खेलिसक्नुभएको थियो ।
सामसनले ४६ बलको सामना गरी पाँच चौका र आठ छक्का तथा किसनले २५ बल खेलेर चार चौका र चार छक्का प्रहार गर्नुभयो । सञ्जुको यो लगातार तेस्रो अर्धशतक हो । सञ्जुले नकआउटमा परिणत भएको सुपर आठको अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ र सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध ८९ रन बनाएर भारतलाई फाइनलमा पु¥याउनुभएको थियो । यस प्रतियोगिताको सुरुका खेलमा टिममा नपरेका सञ्जु प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बन्नुभयो । सञ्जुले पाँच खेलमा ८०.२५ रनको औसत र १९९.३७ को स्ट्राइक रेटमा कुल ३२१ रन बनाउनुभयो । उहाँ सर्वाधिक रनकर्ताको सूची पाकिस्तानका साहिबजादा फरहान र न्युजिल्यान्डका टिम सिफर्टपछि तेस्रो स्थानमा रहनुभयो ।
सञ्जुसँगै सुरुमै क्रिजमा आएका अभिषेक शर्माले पनि २१ बलमा ५२ रनको अविस्मरणीय पालि खेल्नुभयो । अभिषेकको पालिमा तीन छक्का र छ चौका सामेल थियो । यसै गरी शिभम दुवेले पनि आठ बलमा अविजित २६ रन बनाएर उपयोगी योगदान दिनुभयो ।
न्युजिल्यान्ड जवाफमा एक ओभर बाँकी छँदै १५९ रनमा अलआउट भयो । तेज बलर जस्प्रित बुमराहले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिएपछि न्युजिल्यान्ड कुनै पनि समय लक्ष्य पछ्याउने स्थितिमा देखिएन । स्पीनर अक्सर पटेलले पनि तीन विकेट लिनुभयो । न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान सिफर्ट र कप्तान सान्तनरले मात्र उल्लेखलायक पालि खेल्नुभयो । सिफर्टले २६ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर ५२ रन बनाउनुभयो । सान्तनरले ४३ रनको पालि खेल्नुभयो । यी दुईबाहेक डेरिल मिचेल (१७ रन) ले मात्र दोहोरो अङ्कमा रन बनाउन सक्नुभयो ।
बुमराह शानदार बलिङपछि प्लेअर अफ दी म्याच बन्नुभयो । बुमराह फाइनलमा चार विकेट लिएर सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्षस्थानमा उक्लनुभयो । बुमराह र भारतकै स्पीनर वरुण चक्रवतीले सर्वाधिक १४–१४ विकेट लिनुभएको थियो । पाकिस्तानका साहिबजाद फरहान शीर्षरनकर्ता बन्नुभयो । उहाँले सर्वाधिक ३८३ रन बनाउनुभयो ।
च्याम्पियन भारत ट्रफीसहित ३० लाख अमेरिकी डलर पुरस्कारको हकदार बन्यो । जुन अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो ।
उपविजेता न्युजिल्यान्डले १६ लाख अमेरिकी डलरमा चित्त बुझायो । यसै गरी आइसिसीले समूह चरणबाट बिदा हुने टिमलाई प्रदान गरिने दुई लाख ५० हजार अमेरिकी डलर नेपालले पनि प्राप्त गरेको थियो । यस विश्वकपमा नेपालले इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग हार बेहोरेको थियो भने स्कटल्यान्डलाई पराजित गरेको थियो ।




